सुन काण्ड प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा छुटे
गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

२०८० चैत ९ शुक्रबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।
बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छाडेको हो।
उनलाई परिवारको जिम्मा लगाएर पठाइएको जनाइएको छ ।
चैत ५ गते पक्राउ परेका महारमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको थियो। अदालतले दिएको म्याद बिहीबारै सकिएको छ ।
विभिन्न औषधि सेवन गरिरहेका महरा विरामी रहेको भन्दै अदालतले अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
सिआइबीले बुधबार र बिहीबार बयानका लागि महरालाई अस्पतालबाट डिस्चार्ज गरी लैजाने र बयान सकेर पुनः भर्ना गराउने गरेको थियो ।
गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुन तस्करी प्रकरणमै उनका छोरा राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…