सिटिईभीटी मधेशमा कर्मचारी र विद्यार्थी नेताहरुको दलालीले २९ विद्यार्थीको जिन्दगी तवाह
परीक्षाफल प्रकाशन गर्ने कार्यमा समिति तथा विभिन्न उपसमितिमा रहेर काम गरेका उपनिर्देशक, सूचना प्रविधि अधिकृत, प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित ८ कर्मचारीमाथि अझै छानविन भइरहेको छ ।

२०८० माघ २३ मंगलबार, बेलुकी ७:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मधेश प्रदेशमा केही कर्मचारी र विद्यार्थी नेताहरुको दलालीको कारण २९ विद्यार्थीको नाम परीक्षाफलबाट हटाईएको छ ।
सिटिईभीटीले विभिन्न शैक्षिक प्रतिष्ठानमा निःशुल्क छात्रवृत्तितर्फ डिप्लोमा तथा प्रमाणपत्र अध्ययनका लागि लिएको परीक्षाको परीक्षाफलमा कर्मचारीले नियतवश अंकोन्नति गरेको खुलेपछि २९ जना विद्यार्थीको नाम हटाईएको हो ।
सीटीईभीटी मधेश प्रदेशले प्रकाशित गरेको रिजल्ट गलत रहेको भन्दै विभिन्न संगठनहरूले दबाब दिएपछि छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गर्दा कर्मचारीले नियतवश अंकोन्नति गरेको खुलेको हो ।
छानबिन समितिको सिफारिसमा सीटीईभिटीको परीक्षा समितिले २९ विद्यार्थीको अंकोन्नति गरेको देखिएको भन्दै ति विद्यार्थीको सिफारिश रद्द र नियतवश अंकोन्नति गर्ने दुई कर्मचारीलाई हटाउने निर्णय गरेको छ । सिफारिस रद्द गरिएकोमा डिप्लोमा र प्रमाणपत्र तहतर्फ फार्मेसी, स्टाफनर्स, एचए, आयुर्वेद एचए, ल्याब, कृषि विषयका विद्यार्थी हुन् ।
सीटीईभीटी मधेश प्रदेशको परीक्षाफल र छानबिन गर्न गठित कार्यटोलीको प्रतिवेदनमा उल्लेखित परीक्षाफलमा भिन्नता देखिएपछि परीक्षा समितिले चार महिना ढिलो गरी सच्याएर पुनः ‘रिजल्ट’ प्रकाशन गरेको छ । निःशुल्क अध्ययनका लागि सिफारिस भएका २९ विद्यार्थीको नाम छैन् । उनीहरु अब निःशुल्क पढ्न पाउने छैनन् ।
गत पुस २२ मा परीक्षा समितिले गरेको निर्णयबाट सिफारिस रद्द गरिएका विद्यार्थीहरू चार महिनादेखि विभिन्न शैक्षिक संस्थामा पढिरहेका छन् । उनीहरु अध्ययन गरिरहेकै संस्थामै पूर्ण शुल्कीय प्रशिक्षार्थीका रूपमा अध्ययन गर्न पाउने गरी व्यवस्थापन गरिएको सिटीइभिटी मधेशका उपनिर्देशक राजकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार रिजल्ट कम्युटरमा प्रविष्टि गर्दा अस्वाभाविक अंकोन्नति गरिएको विषयमा छानविन भएको छ । अस्वभाविक अंकोन्नति गरेको ठहरसहित प्रशासन सहायक गजेन्द्र मुखिया र सूचना तथा प्रविधि अधिकृत सिम्पी सिंहलाई जागिरबाट हटाइएको छ । उनी दुबैजना करारका कर्मचारी थिए ।
प्रलोभनमा परेर प्रशासन सहायक मुखिया र सूचना तथा प्रविधि अधिकृत सिंहले योग्य विद्यार्थीलाई निःशुल्क पढ्नबाट वञ्चित गराएको र कम अंक ल्याउने विद्यार्थीको सिफारिस हुनेगरी अंकोन्नति गरेका थिए ।
मापदण्ड विपरीत अंकोन्नति प्रकरणमै मुछिएकाले सिटिइभिटी मधेश प्रदेशका निर्देशक अरविन्दकुमार चौधरीलाई यसअघि नै केन्द्रीय कार्यालय काठमाडौंमा तानिसकेको छ । उनको ठाउँमा प्रमुख निर्देशक भएर नागेन्द्र साहलाई पठाइएको छ ।
परीक्षाफल प्रकाशन गर्ने कार्यमा समिति तथा विभिन्न उपसमितिमा रहेर काम गरेका उपनिर्देशक, सूचना प्रविधि अधिकृत, प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित ८ कर्मचारीमाथि अझै छानविन भइरहेको छ ।
सिटिईभीटीमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी नेताहरुको दलालीको कारण २९ जनाको जिन्दगी तवाह भएको हो । आफूलाई विद्यार्थी नेता भन्दै विद्यार्थीहरुसँग लाखौँ रुपैयाँ लिएर छात्रवृतिमा नाम निकालीदिने ग्यारेन्टी दिने गरेको बताईएको छ ।
विद्यार्थी नेताहरुले परीक्षा दिने विद्यार्थीहरुबाट २ लाखदेखि ५ लाखसम्म लिएर कर्मचारीहरु मिलाउँदै निःशुल्क छात्रवृति पाउनै नसक्ने विद्यार्थीलाई छात्रवृति दिएर असल विद्यार्थीलाई छेउ लगाउने कार्यप्रति छानबिन भईरहेको थियो । यो प्रकरणमा अनुसन्धान गरिए कैयौँ विद्यार्थी नेता छानबिनमा पर्ने देखिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…