आज स्वाभिमान दिवसः मधेशीको स्वाभिमान गिराउने ६ बर्षमा ६ काण्ड
साहले मधेश प्रदेश सरकारमा दलितलाई सहभागी गराउन नसकेको (जनमत पार्टीले सिफारिस गरेको दलित महिलाई मन्त्रीको शपथ नगराएको) जस्ता मधेश विरोधी गतिविधि भइरहेकोले मधेशी जनतालाई जागरुक हुन अपील गरेका छन् ।

२०८० माघ ३ बुधबार, बिहान ९:५८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले ६ बर्षपछि मनाउन लागेको स्वाभिमान दिवसमा विभिन्न टिकाटिप्पणी गरिएको छ । ६ बर्षपछि स्वाभिमान दिवसको नाममा आम जनतालाई मूर्ख बनाउन खोजेको गुनासो समेत गरिएको छ ।
यसैबीच डा. सिके राउत नेतृत्वको जनमत पार्टीका सचिव बिपि साहले मधेश आन्दोलन तथा मधेशी शहीदहरुको भावनालाई कुल्चिदै संघीयतालाई समाप्त पार्ने काम मात्र ६ बर्षमा भएको बताएका छन् ।
मधेशी जनताको स्वाभिमान गिराउने कार्य जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारबाट विगत ६ वर्षमा भएकोले सरोकारबालाहरुको ध्यानाकाषर्ण गराउँदै सम्बन्धीत पक्षबाट छानविन गरी कारवाहीको दायरामा ल्याई मधेशको स्वाभिमान उच्च राख्न अनुरोध गर्दै उनले ६ काण्डहरु सार्वजनिक गरेका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै साहले गणतन्त्र, संघीयता, समावेशीता र मधेशवादलाई बदनाम हुनबाट जोगाउन र मधेश प्रदेशलाई देशकै सबल एवं स्वाभिमानी प्रदेशका रुपमा स्थापित गराउन अपिल समेत गरेका छन् ।
साहले मधेशी जनताको स्वाभिमान गिराउने ६ वर्षका ६ काण्ड भन्दै मधेश सरकार गठन भएपछि भएको विभिन्न काण्डहरुलाई समेटिदै स्वाभिमानको नाममा कलँक भएको उल्लेख गरेका छन् ।
उनले ६ बर्षमा मधेशी जनताको स्वाभिमान गिराउने यी ६ काण्डलाई यसरी प्रस्तुत गरेका छन्ः
१. साइकल चोरी काण्डः १० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा विशेष अदालतमा मुद्दा दर्ता । थपको छानविन हुन बाँकी ।
२.स्वच्छता काण्डः मुख्यमन्त्री स्वच्छता अभियानमाको झण्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै अख्तियारद्धारा छानविनको क्रममा ।
३. बेटी ठगी काण्डः मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तरगत छोरी शिक्षा बिमाको ६ हजार फाईल गायब गरी विमा रकम खातामा जम्मा नगरेको । छानविन गरी कारवाही हुन बाँकी ।
४. जानकी मन्दिरमा भ्रष्टाचार काण्डः मधेश प्रदेशको गौरब जानकी मन्दिरको विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौंको भ्रष्टाचार । छानविन हुन बाँकी ।
५. सर्प काण्डः झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर ।
६. शहीद परिवार ठगी काण्डः मधेश प्रदेश सरकारद्धारा शहीद परिवारलाई वितरण गर्ने भनि ल्याइएको भैंसी वितरणमा शहीद परिवारलाई ठगेको । अनुसन्धान हुन बाँकी ।
“मधेश प्रदेशका जनता एवं संघीयतालाई बदनाम गराउन जसपा नेतृत्वको सरकारले पछिल्लो आर्थिक वर्षमा नियम मिचेर गरेको अनुदान वितरण एवं रकमान्तर काण्ड, कृषि मन्त्रालयबाट वितरित कृषि अनुदान तथा कोल्ड स्टोर निर्माणमा भ्रष्टाचार काण्ड, भरत ताल सर्लाहीमा ४५ करोड भ्रष्टाचार काण्ड भएको सार्वजनिक लेखा समितिद्धारा ठहर, मधेश परिवहन काण्डसहितका दर्जनौं भ्रष्टाचार तथा अनियमितताका काण्डहरुमाथि मधेशी जनताले मूल्यांकन गर्नुपर्ने हुन्छ ।”– उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पछिल्लो एक वर्षमा प्रदेश सभालाई निक्कमा बनाई एउटा पनि विधेयक पारित गराउन नसकेको (आर्थिक विधेयक बाहेक), बनेका विधेयकहरुलाई कार्यान्वयनमा ल्याउन नसकेको आरोप उनको छ ।
साहले मधेश प्रदेश सरकारमा दलितलाई सहभागी गराउन नसकेको (जनमत पार्टीले सिफारिस गरेको दलित महिलाई मन्त्रीको शपथ नगराएको) जस्ता मधेश विरोधी गतिविधि भइरहेकोले मधेशी जनतालाई जागरुक हुन अपील गरेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…