मधेश प्रदेशः मालपोत अफिसका तत्कालिन हाकिमसहित चार कर्मचारी भ्रष्टाचारी ठहर
अख्तियारले तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध ९३ लाख ६६ हजार २०९, तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माविरुद्ध एक लाख ४१ हजार ८२५ रुपैया बिगो माग गर्दै मुद्दा दायर गराएको थियो ।

२०८० पुस २८ शनिबार, दिउँसो १:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् ।
राजश्व हिनामिना भ्रष्टाचार गरेको मुद्दामा उनीहरु दोषी ठहर भएका छन् । मालपोत कार्यालयका तत्कालीन दुई जना प्रमुख, एक नायब सुब्बा र एक जना लेखापाललाई अदालतले दोषी ठहर गरेको छ ।
मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख प्रकाश प्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले गएको बुधबार चारै जनालाई दोषी ठहर गरेको छ । अदालतले चारै जनालाई सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएको छ ।
मालपोत कार्यालयमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साल चैत २८ गते चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।
अख्तियारले उनीहरुले मालपोत कार्यालयमा आर्थिक वर्ष २०७२र७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियम अनुसार दाखिला नगरी हिनामिना गरेको पाइएको थियो । विभिन्न मितिमा जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको पाइएको अख्तियारले जनाएको थियो ।
अख्तियारले तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध ९३ लाख ६६ हजार २०९, तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माविरुद्ध एक लाख ४१ हजार ८२५ रुपैया बिगो माग गर्दै मुद्दा दायर गराएको थियो ।
यसैगरि कार्यालयका तत्कालीन नायवसुब्बा मदन प्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध जनही ९५ लाख ८ हजार ३४ रुपैयाँ बिगो माग गरिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…