बहुप्रतिक्षित कमला पुल को पुनःनिर्माण माघ २ गते सुरु हुने, असार अगावै सँचालनको तयारी
पटक– पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।

२०८० पुस २६ बिहीबार, बिहान ९:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनःनिर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधाम र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच आगामी असार अगावै पुलको सञ्चालन गर्ने गरी कार्ययोजना सम्झौता भएको छ ।
सम्झौताअनुसार भासिएको कमला पुलको पुनः निर्माणको काम तीव्रताका साथ हुने निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । “पुल पुनः निर्माणमा विविध समस्या थिए, हामीले निर्माण कम्पनीसँग बसेर कार्ययोजना बनाएका छौँ”, प्रमुख महतोले भने–“सोही कार्ययोजनाअनुसार तोकिएकै समयमा पुलको बाँकी निर्माण कार्य सम्पन्न हुन्छ ।”
कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनः निर्माणको काम गत मङ्सिरबाटै सुरु भए पनि आर्थिक सङ्कटका कारण सुस्त रहेको थियो । “भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङ्को काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक सङ्कट हुन गई निर्माण कार्य ढिला हुन गयो”, थापाले भने–“अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।”
विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो ।
पटक– पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।
पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो ।
यही बीचमा विसं २०७९ चैत १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुलको पुनः निर्माण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।
मन्त्री श्रेष्ठको निर्देशनपछि निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी काम सुरु गरेको थियो । कमला नदीमा बढेको पानीको बहावका कारण पुल पुनःनिर्माणको काम असार नलाग्दै रोकिएको थियो ।
तराई मधेशको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना छ । यस लोकमार्गअन्र्तगत कमला पुल समयमा नबन्दा वर्षौंदेखि स्थानीय सास्ती खेप्न बाध्य छन् ।
कमला पुल पुनः निर्माणको लागि सिरहाका अनुभवी पत्रकार देव कुमार यादवले निरन्तर पहल जारी राखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…