विदेह नगरपालिकाः मावि ठाढीमा निर्माणधीन भवनमा हातले छोएपछि ढल्यो पिल्लर, सयौँ बालबालिकाको ज्यान जोखिममा
यस सन्दर्भमा नगरपालिकाका नगर प्रमुख बेचन दासले यथाशिघ्र सो विद्यालयमा प्राविधिकसहितको अनुगमन टोली पठाएर सत्यतथ्य बुझ्न लगाउने बताएका छन् । उनले विद्यालय जस्तो क्षेत्रमा भवन निर्माणको लागि यस्तो कार्य गरिएको पाईएमा भुक्तानी रोकिनुको साथै ठेकेदार वा उपभोक्ता समितिलाई कारवाहीको लागि सिफारिस गरिने बताए ।

२०८० पुस १७ मंगलबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेहन नगरपालिका वडा नं. १ ठाढीस्थित रहेको मावि ठाढीमा निर्माणधीन विद्यालयको भवनमा कमसल र मापदण्ड विपरित निर्माण भईरहेको पाईएको छ ।
मावि ठाढीमा निर्माणधीन रहेको विद्यालयको भवनमा प्रयोग गरिएको वस्तु मापदण्ड विपरित र कमसल रहेको पाईएको छ । भवन निर्माणको मेरुदण्ड मानिने भवनको पिल्लरमै आवश्यक भन्दा अति न्यून मसाला प्रयोग गर्दा हातले पिल्लर भाँसिने गरेको छ ।
विद्यालयको भवनको सम्पूर्ण भार बोक्ने खम्बा (पिलर) मै मापदण्डभन्दा अधिक कम वस्तु प्रयोग गरेको पाईएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मावि ठाढीमा निर्माण भईरहेको भवनमा ठेकेदारले पिलरमा मापदण्डभन्दा अधिक कम वस्तु प्रयोग गर्दा हातले भाँसिने गरेको छ ।
पिलरमा कमसेकस १ भाग सिमेन्ट, डेढ भाग बालुवा र ३ भाग कन्क्रीट (गिट्टी) दिनुपर्नेमा सिमेन्टको मात्रा नै अति न्यून रहेको पाईएको छ । एक प्राविधिकले गरेको नीजि अनुगमनको क्रममा निर्माणधीन भवनमा कमसल र नक्कली बन्दै गरेको पाईएको हो ।
पिलरमा हुनुपर्ने मजबुतीको २० प्रतिशत समेत मजबुती नभएको अनुमगनको क्रममा देखिएको हो । विद्यालय भवन निर्माणको लागि नगरपालिकाबाट खटिने प्राविधिकले ध्यान नदिँदा ठेकेदारले आफूखुसी कमसल वस्तु प्रयोग गरी भवन निर्माण गर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाहेरी समेत परेको हो ।
यस सन्दर्भमा नगरपालिकाका नगर प्रमुख बेचन दासले यथाशिघ्र सो विद्यालयमा प्राविधिकसहितको अनुगमन टोली पठाएर सत्यतथ्य बुझ्न लगाउने बताएका छन् । उनले विद्यालय जस्तो क्षेत्रमा भवन निर्माणको लागि यस्तो कार्य गरिएको पाईएमा भुक्तानी रोकिनुको साथै ठेकेदार वा उपभोक्ता समितिलाई कारवाहीको लागि सिफारिस गरिने बताए ।
उनले अनुगमन टोली पठाएर भवनको क्षमता, मापदण्ड बारे विस्तृत जानकारी लिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…