न्यूज ब्यूरोमा समाचार आएपछि कमला पूलमा बबाल, पुल भत्काउन थालेपछि बटुवाहरुले गरे प्रतिकार
अहिले सो पूलमा नगर प्रहरीका ईन्चार्ज विश्व बुढाथोकी पुगेका छन् भने प्रहरीले समेत कुनै एक्सन लिने मुडमा नदेखिएपछि प्रहरीले समेत बटुवाहरुबाट असुलिएको अवैद्य रकममा हिस्सेदारी गरेको हुन सक्ने आरोप लगाएका छन् । नगरको सम्पतिलाई तोडफोड गरेको आरोपमा नगर प्रहरीले समेत कुनै एक्सन लिएका छैनन् ।

२०८० मंसिर १३ बुधबार, दिउँसो २:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने सार्वजनिक कमला नदीमा नीजि पूल बनाएर जबदरस्ती रकम असुल्दै आएका ठेकेदार अशोक मुखिया र रामसेवक दासको प्रतिकार गरिएको छ ।
मोटरसाईकल लिएर आवतजावत गर्ने बटोही (बटुवा) हरु आईरहेकै बेला सरकारी सम्पत्ति कब्जा गरी बनाएको नीजि पूल भत्काउन थालेपछि बटुवाहरुले प्रतिकार गरेका छन् । कमला पूलभन्दा दक्षिण निर्माण गरिएको दुई अस्थायी पूल भत्काउन थालेपछि बटुवाहरुले प्रतिकार गरेको हो ।
सरकारी सम्पत्ति कब्जा गरी बनाएको पूलमा प्रत्येक बटुवाबाट ५० रुपैयाँ असुल्दै अहिलेसम्म करोड रुपैयाँ बढी कमाएपनि मन लागेको बेला भत्काउन नपाउने भन्दै बटुवाहरुले प्रतिकार गरेका छन् । सरकारी जमिनमा बनाएको पूलमा सबैका हक रहेको बताउँदै एक बटुवाले पुल भत्काए राजश्व घपला र अवैद्य असुलीसहित सरकारी जमिन कब्जा गरी अवैद्य व्यापार गरेको आरोपमा मुद्दा दायर गर्ने धम्की दिएपछि झन बबाल भएको हो ।
आज बिहान न्यूज ब्यूरोमा कमलामा पैसा कमाउन ज्यान मार्ने धन्दाः सरकारी पुल भत्काएर बनाउँछन नीजी पुल, असुल्छन लाखौँ रुपैयाँ शिर्षकको समाचार प्रकाशित भएपछि पूल बनाउने अशोक मुखिया र रामसेवक दासले आफ्ना मान्छेहरु लगाएर पूल भत्काउन खोजेपछि बटुवाहरुले प्रतिकार गरेको हो । गएराती भाँसिएको कमला पक्की पूलमा भएको दुर्घटनापछि स्थानीयहरु समेत आक्रोसित बनेका छन् ।
सिरहा नगरपालिकाले निःशुल्क बनाईदिएको अस्थायी पूलमा समेत अशोक र रामसेवकका मान्छेहरुले अवैद्य असुली गर्दै दैनिक २५ देखि ३० हजार रुपैयाँ झ्वाम्म पार्दै आएका थिए । नगरपालिकालाई जानकारी भएपछि खवरदारी गर्दा अशोक मुखिया र रामसेवक दास तथा उनका समूहले नगरपालिकाले बनाएको अस्थायी पूल रातारात भत्काएर सरकारी जमिनमै आफ्नो नीजि पूल बनाएर लाखौँ अवैद्य असुली गरिरहेका छन् ।

मुखिया र दासमाथि सरकारी सम्पति हिनामिना तथा तोडफोड र चोरी आरोपमा समेत मुद्दा लाग्न सक्ने एक प्रहरी अधिकारीले जनाए । कसैले जाहेरी दिएको खण्डमा दुवै जनामाथि मुद्दा लागी बिगो असुलसहित कैद सजाय समेत हुन सक्ने नाम नखोल्ने शर्तमा एक अधिकारीले बताए ।
एक बटुवाले भने, –“एक त नगरपालिकाले निःशुल्क बनाईदिएको पुल यीनीहरुले तोडिदिए, सबै प्लाईवुडहरु चोरी गरी नीजि पूल बनाए । पैसा लिनुपरो, तर बढीमा ५ रुपैयाँ लिनुस न । एक जनासँग ५ रुपैयाँ कम हो र ? सरकारी सम्पति सबैको होईन र ? विगत दुई बर्षदेखि असुलेको करोड बढी रुपैयाँ उनीहरुले फिर्ता गर्छन् त ? दिनहुँ हजारौँ जना पूल पार गर्छन सबै जनासँग ५० रुपैयाँ लिन्छन्, जो सँग पैसा हुँदैन उनलाई थर्काउँछन्, दादागिरी गर्छन् । सार्वजनिक सम्पतिमा कब्जा गरेर यस्तो व्यापार गर्ने छुट कसैलाई छैन् । सहुलियतको लागि हामी पनि सहयोग गर्छौ तर यति होईन् । आज पूल भत्काए यीनीहरुको खयर हुँदैन । जे मन लाग्छ त्यो गर्न पाईन्छ र ?”
यता, सो सन्दर्भमा नगर प्रहरीका ईन्चार्ज विश्व बुढाथोकीसँग सम्पर्क गर्दा उनको मोबाईलमा सम्पर्क भने हुन सकेनन् । अहिले कमला पूलमा अवस्था तनावग्रस्त रहेको छ । एक तर्फ ठेकेदार र अर्को तर्फ बटुवाहरु रहेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…