आज जानकी मन्दिरबाट गौ–हत्या विरुद्धको विरोधसभाको रैली निकालिँदै
सामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु भन्दा सनातनीहरुकोलागि दुःखद के हुन्छ भन्दै उनले आफूहरु खबरदारी स्वरुप शुक्रबार शान्तिपूर्ण विरोध सभा गर्न लागेको बताए ।

२०८० असोज १२ शुक्रबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व हिन्दू परिषद्ले गौ हत्या विरुद्ध शुक्रबार शान्तिपूर्ण विरोध सभा गर्ने भएका छन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवको अध्यक्षतामा शुक्रबार जानकी मन्दिरको प्राङ्गणबाट विरोध सभा निस्कने जनाइएको छ ।
विगत केही दिनदेखि देशका विभिन्न ठाउँमा गौ हत्या भइ रहँदा पनि सरकार मूक दर्शक भएर बसेको बताउँदै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध सभा गर्न लागेको उत्तराधिकारी महन्थ रोशनले जानकारी दिए ।
गाई नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रुपमा परापूर्वकाल देखिनै मान्दै आएका कारण केही अतिबादीहरुले हिन्दू सनातनधर्ममाथि प्रहार स्वरुप गौ हत्या गर्ने गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनुनै सनातनीहरुमाथिको पहिलो आक्रमण थियो तर, अब हिन्दूहरु जागरुक भइसकेको उनले बताए ।
विभिन्न चाडपर्वमा कुनै न कुनै बहानामा हिन्दूहरुमाथि आक्रमण हुँदा पनि सरकार र सरकारी निकायको मौनताले हिन्दूमाथि प्रहार भएको हिन्दूबादी संघ संस्थाहरुको बुझाई छ । ‘पटक पटक आक्रमण गर्नु र पछि सद्भाव कायम राख्न आग्रह गर्छन्’ उत्तराधिकारी महन्थ रोशनले भने–‘सद्भाव राख्ने काम सबै पक्षको हुन्छ भन्ने कुरालाई मनन गर्न जरुरी छ ।’
सामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु भन्दा सनातनीहरुकोलागि दुःखद के हुन्छ भन्दै उनले आफूहरु खबरदारी स्वरुप शुक्रबार शान्तिपूर्ण विरोध सभा गर्न लागेको बताए ।
जनक भूमि, जानकी जन्म स्थल र शान्तिका दूत मानिएका गौतम बुद्धको जन्म स्थलमा हत्या हिंसा तथा गौ हत्या गर्नेमाथि प्रतिबन्ध नलगाउनु गम्भिर पक्ष भएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…