बाख्रा घोटालामा बोदेबरसाईन नगरपालिकाका मेयर यादव पदबाट निलम्बित
मेयर आतेशकुमार सिंह यादव, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र उक्त प्रतिवेदनका आधारमा किसान समूहलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

२०८० भदौ १४ बिहीबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । यसअघि सप्तरीको तीन पालिकाको प्रमुख पदबाट निलम्बित भईसकेको अवस्थामा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख समेत पदबाट निलम्बित भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरि भुक्तानी गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर–६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार नौ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।
मेयर आतेशकुमार सिंह यादव, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र उक्त प्रतिवेदनका आधारमा किसान समूहलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भर्पाईकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारले नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि पदबाट स्वतः निलम्बन भएका छन् । सप्तरी जिल्लाकै चार स्थानीय तहको प्रमुख नै निलम्बन भएपछि भागदौड मच्चेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…