जानकीको अस्तित्व फर्काउँदै सिडिओ दाहाल, जानकी मन्दिरमा पान–गुटखा थुकेमा ५ हजारसम्म जरिवाना
सो क्रममा बोल्दै सिडिओ दाहालले अब जानकी मन्दिरमा पान, पराग, गुटखा, सूर्ति खाएर जथाभावी थुक्नेलाई रु. ५०० देखि रु. ५००० रुपैयाँसम्म जरिवाना लगाउने घोषणा गरेका छन् । सो घोषणालाई अधिकारिक रुपमा जिल्ला प्रशासनबाटै निर्णय जारी गरिने बताए ।

२०८० साउन १९ शुक्रबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जानकीको पौराणिक अस्तित्व फर्काउने प्रयासमा लागेका छन् ।
विश्वप्रसिद्ध जानकी मन्दिरको अस्तित्व खतरामा परेको अवस्थामा धनुषाका सिडिओ दाहालले मन्दिरलाई विशेष लक्षित गरी पौराणिक अस्तित्व फर्काउने अभियानमा लागेका छन् ।
शुक्रबार ऐतिहासिक जानकी फूलबारीमा विभिन्न प्रजातिको फलफूलको विरुवा रोपेका सिडिओ दाहालले पौराणिक इतिहासलाई अस्तित्वमा फर्काउने प्रयास गरेको बताए । जानकी फूलबारीमा करेसाबारी लगाएपछि सिडिओ दाहालले करेसाबारी नष्ट गरी शुक्रबार घर–घरबाट एक एक फूलको विरुवा लिएर रोपण गर्न आह्वान गरेका थिए । सोही अनुसार, जनकपुरियनहरुले एक एक फूलको विरुवा रोपेका छन् ।
सो क्रममा बोल्दै सिडिओ दाहालले अब जानकी मन्दिरमा पान, पराग, गुटखा, सूर्ति खाएर जथाभावी थुक्नेलाई रु. ५०० देखि रु. ५००० रुपैयाँसम्म जरिवाना लगाउने घोषणा गरेका छन् । सो घोषणालाई अधिकारिक रुपमा जिल्ला प्रशासनबाटै निर्णय जारी गरिने बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई साक्षी राख्दै सिडिओ दाहालले जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय धनुषाको सँयुक्त पहलमा जानकी मन्दिरमा पान, पराग, गुटखा वा सुर्तिजन्य पदार्थ खाएर जथाभावी थुक्नेलाई ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने घोषणा गरेका छन् ।
सिडिओ दाहालले यसअघि जानकी फूलबारीको अस्तिव फर्काउने सम्बन्धी गरेको उदघोषण बमोजिम आज जानकी फूलबारीमा फूल रोपण गरिएको हो । यसैगरी, जानकी मन्दिर परिसरमा थुक्नेलाई ५ हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ ।
यसको लागि जानकी मन्दिरमा टुरिष्ट प्रहरी, रेखदेखको लागि कर्मचारी खटाईने भएको छ । यस्तै, जानकी मन्दिरको भित्र टिकटोक भिडियो, भिलोग भिडियो बनाउनेलाई समेत पक्राउ गरी कारवाही गरिने भएको छ । जानकी मन्दिरको अस्तित्वसँग खेलवाड हुन थालेपछि सिडिओ आफैँ एक्सन लिएका छन् । यसअघि दुई जना टिकटोकियालाई पक्राउ गरि कारवाही गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…