प्रभु साहलाई पक्राउ गराउन जसपासहित आधा दर्जन दलको मोर्चाबन्दी
मोर्चाले जुलुससहित जिल्ला प्रशासन कार्यालय दिउँसो ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । साहले समाजमा फेरि द्वन्द्व फैलाउन लागेको आरोप लगाउँदै उनले गरेका हत्याहरुको फाइल समेत खोल्नुपर्ने माग मोर्चाको छ ।

२०८० साउन ९ मंगलबार, बिहान ८:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गौरस्थित विवादित राइस मिलमा २७ जना माओवादी वाइसीएलको हत्या भएको घटनालाई उछालेर दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेका आम जनता पार्टी (आजपा) का केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहलाई जिल्लामै घेराबन्दी गरिएको छ ।
साहले १७ वर्ष पुरानो हिंसात्मक घटनाको नाममा राजनीति गर्न खोजेको आरोप लगाउँदै रौतहट जिल्लाका आधा दर्जन राजनीतिक दलहरुले साह विरुद्ध मोर्चाबन्दी गरेका छन् । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको २०६३ सालको चैत ७ गते राइस मिलमा आयोजित सभालाई विथोल्न तत्कालीन मधेशी मोर्चाका संयोजक प्रभु साहले चितवनबाट वाइसीएल बोलाएर आक्रमण गर्ने प्रयास गरेका थिए ।
स्थानीय प्रशासनले समेत माओवादीलाई राइस मिलमा कार्यक्रम गर्न रोक लगाए पनि बसमा आएका वाइसीएलका कार्यकर्ताहरुलाई मिलको परिसरमा प्रवेश गराएको आरोप साहमाथि लाग्दै आएको छ ।
तत्कालीन समयमा साहले माओवादी पार्टीका नेताहरुलाई जानकारी नै नदिइ फोरमका नेताहरुलाई सिध्याउने योजना बनाएको आरोप उनीमाथि तत्कालीन समयमा लागेको थियो । साहले सो घटनामा जनता समाजवादी पार्टी९जसपा० का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई मुछेर विवादमा ल्याउन खोजेको आरोप मोर्चाले लगाएको छ ।
पूर्व प्रदेश सभासद रामकिशोर यादवको संयोजकत्वमा गठित २१ सदस्यीय संघर्ष समितिले साहलाई कारबाही गर्न माग गर्दै मंगलबार (आज) स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
मोर्चाले प्रभु साहलाई नै गौर घटनाको मुख्य योजनाकार ठहर गर्दै कारबाहीका लागि माग गर्ने भएको छ । साहमाथि विश्वहिन्दू परिषद् वीरगञ्जका अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मुद्दा दर्ता गरिए पनि महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिएको थियो । सरकारको दबाबलाई झेल्दै पर्साका तत्कालीन एसपी रमेश खरेलले साह विरुद्ध मुद्दा दर्ता गरेका थिए ।
मोर्चाले जुलुससहित जिल्ला प्रशासन कार्यालय दिउँसो ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । साहले समाजमा फेरि द्वन्द्व फैलाउन लागेको आरोप लगाउँदै उनले गरेका हत्याहरुको फाइल समेत खोल्नुपर्ने माग मोर्चाको छ ।
संघर्ष समितिमा सुनील कुमार यादव सभापति नेपाली कांग्रेस , रामचंद्र गिरी सचिव नेपाली कांग्रेस , वीरेन्द्र पान्डेय प्रदेश सदस्य नेकपा माओवादी केन्द्र , श्याम बिहारी यादव जिल्ला अध्यक्ष जसपा , योगेन्द्र यादव केन्द्रीय सदस्य जसपा , अशोक कुमारी सिंह केन्द्रीय सदस्य जनमत पार्टी , कमल प्रसाद यादव जिल्ला अध्यक्ष नेकपा एस, अवधेश प्रसाद यादव नेकपा एस ,वृज किशोर यादव नेकपा एस ,रेवन्त झा नेकपा एस , रामेश्वर प्रसाद यादव , बाबुलाल साह कानु पूर्व प्रदेश सांसद लोसपा , अनिल कुमार सिंह लोसपा , शेष जमशैद लोसपा , अमर प्रसाद यादव , मोहन कुमार यादव नगर सभापति नेपाली कांग्रेस गौर , जगरनाथ प्रसाद केसरी नागरिक समाज , धर्मेन्द्र प्रसाद यादव नगर अध्यक्ष नेपली कांग्रेस राजदेवी नपा , शंकर राय यादव समितिमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…