धनुषामा दुई कित्तामा बाँडियो जसपा नेपाल, असली अध्यक्ष को ?
गत बर्ष भएको स्थानीय तहको चुनावदेखि नै पशुपति यादव–जीतेन्द्र यादव– शैलेन्द्र यादवबीच टशन चल्दै आएको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ (क) मा जसपाबाट एक पटक प्रदेश साँसद भएका शैलैन्द्र यादवले गत बर्षको चुनावमा लज्जास्पद हार बेहोरे । सो चुनावमा पशुपति यादवलाई टिकट दिने तरखरमा रहेको पार्टीले शैलेन्द्र र जीतेन्द्रको पक्कडको हिसाबले पशुपतिलाई पाखा लगाइएको बुझिएको छ ।

२०८० जेठ १४ आइतबार, बिहान ७:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला कार्य समिति धनुषा दुई कित्तामा बाँडिएको देखिएको छ ।
यसअघि जसपाको प्रदेश कमिटिले धनुषा जिल्ला कार्य समितिको अध्यक्षमा पशुपति यादवलाई पुनः चयन गरी सार्वजनिक गरिएपनि शनिबार सत्रुध्न यादवलाई जिल्ला अध्यक्ष तोकेपछि जसपा दुई कित्तामा बाँडिएको हो ।
गत बैशाख २८ र २९ गते जनकपुरधामा बसेको पार्टीको बैठकबाट ५२ सदस्यीय धनुषा जिल्ला कार्य समिति चयन भएको थियो । जसमा पशुपति यादवलाई पुनः अध्यक्षको जिम्मेवारी तोकिएको प्रष्ट छ । पार्टीको मधेश प्रदेश कमिटिका मुख्य सचिव दिनेश कुमार यादवले हस्ताक्षर गरेको पत्रमा पशुपति यादव अधिकारिक अध्यक्ष रहेका छन् ।
शुक्रबार मात्र ती समितिलाई सपथ ग्रहण गराईसकेको अवस्थामा सत्रुध्न यादवलाई पूर्वाग्रह रुपमा अध्यक्ष बनाइएपछि जसपाका दुई खण्डमा विभाजित भएको हो । केन्द्रीय सदस्य उर्मिला साहले आफूखुसी बैठक बोलाएर सत्रुध्न यादवलाई जिल्ला अध्यक्षको सपथ खुवाएपछि विवाद सुरु भएको छ ।
धनुषामा समानान्तर कमिटी गठन गरी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई सोझै चुनौती दिएको जिल्लाका नेताहरुको कथन छ । मधेश प्रदेशका अध्यक्षसमेत रहेका कार्यकारिणी समितिका सदस्य रामबाबु यादवले केन्द्रीय निर्देशन अनुसार बनेको कमिटीलाई प्रदेशले शपथग्रहण गराइ मान्यता दिइसकेको बताएका छन् ।
‘पार्टी विधान विपरीत कार्यगर्नेहरुलाई कारबाही गरिनेछ ’ उनले भने, जिल्ला कमिटीको विरोधमा अर्को भेलागर्नेहरु मध्ये प्रदेशका सचिव जितेन्द्र यादवसहित सदस्यहरुलाई स्पष्टीकरण सोधिनेछ । जसपा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष पशुपति यादव रहेको उल्लेख गर्दै उनले भने, पार्टीमा गुटबन्दी गर्नेहरुलाई सोझै कारबाही हुनेछ ।
प्रदेश सचिव यादव, प्रदेश सदस्य ज्ञानेन्द्र यादव, केन्द्रीय सदस्य चमेली दास, शैलेन्द्र यादवलगायतले धनुषामा पार्टी भित्र गिरोह खडा गर्न चाहेको आरोप लगाइएको छ ।
जिल्लामा समानान्तर कमिटी गठन हुनु पार्टीको हित विपरीत रहेको केन्द्रीय सदस्य महाजन यादवले जनाएका छन् । ‘कार्यदलले घोषणा गरेको कमिटीप्रति सबैले विश्वास गर्नुपर्ने थियो’ उनले भने, निकट भविष्यमै हुने महाधिवेशनको क्रममा नेतृत्वको विषयमा नयाँ ढंगले छलफल गर्न सकिन्छ ।
केन्द्रीय नेतृत्वको विरोधमा जिल्लामा समानान्तर समितिको घोषणा पहिलो पटक भएको र यसले नकारात्मक असर पार्ने केन्द्रीय सदस्य रामगोविन्द यादवले बताए । ‘गत आम निर्वाचनमा गुटबन्दीकै कारण पार्टीले नराम्ररी पराजय भोग्नु परेको हो’ उनले भने, गुटबन्दी समाप्त गर्न केन्द्रले गरेको निर्णयलाईसमेत नमानेर समानान्तर कमिटीको घोषणा गर्नु संगठनको हित विपरीत हो ।
प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावदेखि नै पशुपति यादवप्रति प्रदेश सचिव जीतेन्द्र यादव पूर्वाग्रह देखिएको बताइएको छ । यद्यपी, जीतेन्द्र यादव पशुपति यादवप्रति सुरुदेखि नै पूर्वाग्रही प्रवृति देखाउँदै आएको बताईएको छ ।
गत बर्ष भएको स्थानीय तहको चुनावदेखि नै पशुपति यादव–जीतेन्द्र यादव– शैलेन्द्र यादवबीच टशन चल्दै आएको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ (क) मा जसपाबाट एक पटक प्रदेश साँसद भएका शैलैन्द्र यादवले गत बर्षको चुनावमा लज्जास्पद हार बेहोरे । सो चुनावमा पशुपति यादवलाई टिकट दिने तरखरमा रहेको पार्टीले शैलेन्द्र र जीतेन्द्रको पक्कडको हिसाबले पशुपतिलाई पाखा लगाइएको बुझिएको छ ।
पशुपति यादवलाई पुनः अधिकारिक अध्यक्ष बनाइएपछि जीतेन्द्र, शैलेन्द्र, ज्ञानेन्द्रको टीमले सत्रुध्न यादवलाई अघि सारेर जसपाभित्रै गुटबन्दी गरेको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…