जनकपुरका एक वडाध्यक्ष र वडासचिव निलम्बन
अनुसन्धानको सिलसिलामा वडाध्यक्ष चौधरी र सोही वडाका वडासचिव रायको आपसी योजना तथा मिलोमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा सहीछाप गर्नका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

२०८० जेठ १२ शुक्रबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष र वडासचिव निलम्बनमा परेका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका दुवै जनामाथि मुद्दा दायर भएपछि उनीहरु स्वतः निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र सचिव दुवैमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनीहरु स्वतः निलम्बनमा परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सोही वडाका वडासचिव माधवकुमार रायउपर घुस लिई भ्रष्टाचार गरेको भन्दै शुक्रबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो । अख्तियारले सो मुद्दा विशेष अदालतमा दायर गरेको हो । नियम बमोजिम दुवै जना स्वतः निलम्बनमा परेका छन् ।
वडाअध्यक्ष चौधरी र वडासचिव रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटेको टोलीले दुवैजनालाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत बर्ष २०७९ चैत ८ गते जनकपुरधामको एक होटलबाट नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा वडाध्यक्ष चौधरी र सोही वडाका वडासचिव रायको आपसी योजना तथा मिलोमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा सहीछाप गर्नका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
दुवैजनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा उनीहरूलाई ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…