उपराष्ट्रपतिमा फरक लिँगको अडानपछि जसपालाई अप्ठयारो
निर्वाचन आयोगले यस्तो तर्क गरिरहँदा राजनीतिक दलका नेताहरु भने राष्ट्रपति र उपराष्ट्रपति ‘फरक लिंग वा समुदायको हुनुपर्ने’ भनिएकाले समुदायमात्रै फरक हुँदा मान्य हुने दाबी गर्छन् ।

२०७९ फागुन २६ शुक्रबार, बिहान ८:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपतिमा खस आर्य समुदायबाट रामचन्द्र पौडेल निर्वाचित भएसँगै अब उपराष्ट्रपतिमा संविधानको मर्म र भावनाअनुसार फरक समुदायबाट अनिवार्य रुपमा महिलाको प्रतिनिधित्व हुनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
आयोगले उपराष्ट्रपतिमा महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने भनेपछि पुरुषलाई उम्मेदवार बनाउने तयारी गरिरहेका दलहरु अलमलमा परेका परेका छन् ।
सत्तारुढ ८ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने सहमति जुटेको छ । सोही सहमति अनुसार जसपाले आज सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिमा उठाउने औपचारिक निर्णय नै गरेको छ । तर, निर्वाचन आयोगले पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने भनेपछि यो विषय जटिल बन्ने देखिएको छ । आयोग आफ्नो अडानबाट पछि नहटे जसपाले उपराष्ट्रपतिमा महिलालाई नै उठाउनुपर्ने हुन्छ ।
निर्वाचन आयोग स्रोतले सँचारकर्मीहरुसँग भन्यो , ‘हामीले भोलि बिहीबार आयोगको बैठक राखेर उपराष्ट्रपतिमा महिलाको प्रतिनिधित्व गराउन दलहरुलाई औपचारिकरुपमै भन्ने छौं । संविधानको भावना अनुसार अब उपराष्ट्रपतिमा गैरखसआर्य समुदायबाट महिलालाई उठाउनैपर्छ ।’

यसअघि पनि निर्वाचन आयोगका पदाधिकारीसँग सत्तारुढ दलका नेताहरुले उपराष्ट्रपतिबारे अनौपचारिक छलफल गरेको आयोग स्रोतले बतायो । स्रोतले भन्यो, ‘उहाँहरुले पुरुषलाई उपराष्ट्रपति बनाउन नपाउने हो भने अदालत जान्छौं भन्नुभएको छ, हामीले भोलि औपचारिकरुपमै महिला अनिवार्य हुनैपर्ने निर्णय गर्दै छौं ।’
संविधानमा के छ ?
संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने’ भनिएको छ । सो धाराले भनेको छ,‘यस संविधान वमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ ।’
निर्वाचन आयोगले संविधानको यही धारामा टेकेर राष्ट्रपति खस आर्य पुरुष हुँदा उपराष्ट्रपति महिला हुनुपर्ने जिकिर गरेको हो । आयोग स्रोत भन्छ, ‘संविधानको प्रस्तावनाको भावना पनि समावेशिता र लैंगिक समानता हुनुपर्छ भन्ने रहेको छ, सभामुख र स्थानीय तहमा पनि प्रमुख एउटा लिंगको हुँदा उपप्रमुख अर्को लिंगको हुने व्यवस्था छ । त्यसैले राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति महिला हुनैपर्छ ।
निर्वाचन आयोगले यस्तो तर्क गरिरहँदा राजनीतिक दलका नेताहरु भने राष्ट्रपति र उपराष्ट्रपति ‘फरक लिंग वा समुदायको हुनुपर्ने’ भनिएकाले समुदायमात्रै फरक हुँदा मान्य हुने दाबी गर्छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राम सहाय यादवलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने औपचारिक निर्णय गरिसकेको जानकारी दिँदै भने, निर्वाचन आयोग संविधानविपरीत जान मिल्दैन । संविधानमा फरक लिंग वा समुदायको उठाउने भनिएको छ । हामीले संविधानविदहरुसँग छलफल गरेर उम्मेदवारी तय गरेका हौं ।’
अघिल्लो कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायबाट छानिएका थिए । राष्ट्रपतिमा खस आर्य समुदायकी महिला विद्यादेवी भण्डारी निर्वाचित हुँदा उपराष्ट्रपतिमा जनजाति पुरुष नन्दबहादुर पुन निर्वाचित भएका थिए ।
तर, पहिलो राष्ट्रपति र उपराष्ट्रपति भने दुवै एउटै समुदायका पुरुषहरु डा. रामवरण यादव र परमानन्द झा निर्वाचित भएका थिए । उनीहरु अहिलेको संविधानअनुसार नभएर अन्तरिम संविधानको प्रावधानबाट राष्ट्रपति, उपराष्ट्रपति बनेका थिए | from:kantipurtv
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…