मिर्चैयामा अवैद्य संरचना भत्काएको छु, कसैको रजिष्ट्री घर होइनः मेयर यादव
यता, मिर्चैया नगरपालिकाका मेयर यादवले भने सार्वजनिक जमिन हडपेर निर्माण गरिएको भौतिक संरचना मात्र भत्काइएको बताएका छन् । उनले रजिष्ट्री पास भएको एक ईन्च पनि जमिन नछोएको प्रतिक्रिया दिएका छन् ।

२०७९ फागुन १२ शुक्रबार, बिहान ७:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकामा अहिले अवैद्य रुपमा निर्माण गरिएको भौतिक संरचना धमाधम भत्काउन थालिएको छ ।
सिरहा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले पूर्वपश्चिम राजमार्गदेखि बजारसम्मको सडक अतिक्रमण गरी बनाइएको संरचना धमाधम भत्काउन थालेका छन् ।
आफैँ डोजर लिएर बिहानै निस्कने मेयर यादवले सो सडकलाई ६० फिट फराकिलो बनाउन लागेका छन् । सो क्षेत्रभित्र पर्ने तीन मँजीला, चार मँजीला मकानहरु पनि भत्काइएको छ ।
एकातर्फ ठुल ठुला बिल्डिँगहरु भत्काउन थालेपछि स्थानीय केही व्यापारीहरुले मेयर यादवको विरोध जनाउन थालेका छन् । व्यापारीहरुले बजारलाई अस्तव्यस्त पारेर भौतिक संरचना भत्काएको आरोप लगाएका छन् ।
ठुल ठुला घरहरु भत्काउन थालेपछि दर्जनौ घर परिवारमा रुवाबासी पनि चलेको छ । घर भत्काइएका स्थानीयहरुले मेयर यादवप्रति आक्रोस झार्दै एकलौटी गुण्डाराज गरेको पनि प्रतिक्रिया दिएका छन् ।
यता, मिर्चैया नगरपालिकाका मेयर यादवले भने सार्वजनिक जमिन हडपेर निर्माण गरिएको भौतिक संरचना मात्र भत्काइएको बताएका छन् । उनले रजिष्ट्री पास भएको एक ईन्च पनि जमिन नछोएको प्रतिक्रिया दिएका छन् ।
बजारको जमिन, सार्वजनिक जमिनको नक्सा हेरेर मिर्चैयाका सम्पूर्ण व्यापारी, स्थानीयहरुलाई बोलाएर सर्वसहमति गरी तोडफोड सुरु गरेको मेयर यादवले दाबी गरेका छन् ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा मेयर यादवले सार्वजनिक जमिनमा खडा गरिएको घर, टहरा, पसललाई माईकिँग, सूचना गरी हटाउन ३५ दिन अगाडी नै भनेको प्रतिक्रिया दिए । उनले व्यापारीहरु, सर्वसाधारणहरुले घर खाली गरेपछि मात्र भत्काउन सुरु गरिएको बताए ।
उनले भने, –“कसैले आएर नक्सा हेरियोस्, लालपूर्जा भएको जग्गा धनीको एक ईन्च पनि भत्काईएको छैन, सार्वजनिक जमिन मासेर बनाइएको भौतिक संरचना हटाउनको लागि सबैको सर्वसहमतिमै भएको छ । त्यसको निर्णय बजाबतै नगरपालिकामा छ । अदालतले दिएको स्टे अर्डर पनि सही हो, तर सार्वजनिक जग्गाको भौतक संरचनाको लागि होईन, कसैको नीजि रजिष्ट्रीको निर्माण हामीले हटाएकै छैन ।”
उनले नगरपालिका अधिनश्थमा लिईएको सार्वजनिक जग्गामा सबैको हकाधिकार रहेको बताए । नालासहित ६० फिटको सडक फराकिलो गर्दा कसैको निजी जग्गा जमिन नछोएको उनले दाबी गरे ।
सोही क्रममा केही स्थानीयहरुले मेयर यादवप्रति गुण्डा लगाएर तोडफोड गराएको आरोप पनि लगाएका छन् । उनीहरुले प्रहरीले गर्नुपर्ने कार्य स्थानीय गुण्डा, लठैत लगाएर गराएको आरोप लगाएका छन् ।
सो सन्दर्भमा मेयर यादवले कामको रोकाबट नहोस् भनेर स्थानीय प्रशासनलाई नै प्रयोग गरेको बताए । उनले प्रहरीको प्रत्यक्ष रोहबरमै अतिक्रमित संरचना हटाइएको दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…