सरकारी बजेटमा ओरकेष्ट्रा नचाउने मौलापुर नगरपालिकामा ५१ करोड बेरुजु, केटी नचाएर करोडौँ झ्वाम्म
नगरपालिकाले वार्षिक रुपमा सर्वाधिक एउटै शीर्षक मधानी महोत्सवमा खर्च गर्दै आएको छ । यस वर्ष भारतीय भोजपुरी कलाकारहरु पवन सिंह, काजल राघवानी लगायत दर्जन बढी रहेका छन् । उनीहरुलाई दिइने पारिश्रमिकको भन्दा धेरै बढी खर्च देखाएर आर्थिक अनियमितता हुने गरेको आरोप विपक्षी दलका नेताहरुले लगाउँदै आएका छन् ।

२०७९ फागुन ७ आइतबार, बिहान ९:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकाले हरेक वर्ष आयोजनागर्दै आएको मधानी महोत्सवमा करोडौ आर्थिक अनियमितता हुने गरेको छ ।
भारतका भोजपुरी गायक, नर्तकीहरु ल्याएर आयोजना गरिने मधानी कार्यक्रममा मोलापुर नगरपालिकाले हरेक वर्ष १० करोड भन्दा बढी खर्च गरेको लेखापरीक्षकको प्रतिवेदनबाट देखिएको छ ।
मधानी महोत्सव भनिए पनि त्यसको प्रमुख आकर्षण भारतीय छाडा भोजपुरी गीत र नृत्य रहेको छ । शुक्रबारदेखि सुरु भएको मधानी महोत्सव शनिबार सम्पन्न भएको छ । महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार गरेका थिए ।
शनिबार भोजपुरी कलाकारहरुको प्रदर्शनपछि सकिएको छ । नगरपालिकाले आयोजना गर्ने मधानी महोत्सवमा करोडौ खर्चेर भारतीय भोजपुरी कलाकारहरुलाई ल्याउने कार्यको स्थानीय बुद्धिजिवीहरुले तीव्र विरोध गरिरहेका छन् ।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद प्रभुख साहकी पत्नी किरण साह मौलापुर नगरपालिकाकी मेयर हुन् । उनी दोस्रोपटक निर्वाचित भएकी छिन् ।
मधानी महोत्सवका लागि नगरपालिकाले गर्ने बजेट विनियोजनको भन्दा धेरै बढी खर्च हुने गरेको बताइन्छ । मधानी महोत्सवको नाममा गरिएको खर्च मध्ये लेखापरीक्षण प्रतिवेदनमा ५१ करोड बढी बेरुजु देखाइएको छ ।
आर्थिक नियम कानून विपरीत गरिएको सो खर्चलाई लेखा परीक्षणमा बेरुजु देखाइए पनि यस वर्ष पनि करोडौ खर्च गरिएको छ । अश्लिल भोजपुरी गीतमा नाच्ने, झुम्ने दर्शकहरुको अव्यवस्थित उपस्थितिले हरेक वर्ष झै–झगडा समेत हुने गरेको छ ।
कयौं सय दर्शकहरु उभिएर नै भोजपुरी कलाकारहरुको नाचगान हेर्ने गरेका छन् । मौलापुरमा मधानी स्थानलाई पुरातात्विक र संस्कृतिक महत्वको भएको बताइन्छ । त्यहाँ शिवलिंग पनि रहेका छन् ।
मधानी महोत्सवको आयोजना राम्रो भए पनि त्यसमा हुने भोजपुरी नाचगानको खर्च अस्वभाविक रहेको मौलापुर नगरपालिका–३ का दिनेश साहले बताए । ‘महोत्सवको नाममा अनावश्यक खर्च देखाइन्छ’ उनले भने, महोत्सवमा नगरपालिकाले गर्ने खर्चमा भारी भ्रष्टाचार पनि हुने गरेको छ ।
मौलापुर नगरपालिका ऋणमा चलिरहेको छ । नगरपालिकाको वार्षिक बजेट भन्दा कयौं गुणा बढी खर्च अगावै हुने गरेको छ । ऋणभारमा रहेकाले आन्तरिक स्रोतबाट विकास निर्माणको काम ठप्प रहेको छ ।
नगरपालिकाले वार्षिक रुपमा सर्वाधिक एउटै शीर्षक मधानी महोत्सवमा खर्च गर्दै आएको छ । यस वर्ष भारतीय भोजपुरी कलाकारहरु पवन सिंह, काजल राघवानी लगायत दर्जन बढी रहेका छन् । उनीहरुलाई दिइने पारिश्रमिकको भन्दा धेरै बढी खर्च देखाएर आर्थिक अनियमितता हुने गरेको आरोप विपक्षी दलका नेताहरुले लगाउँदै आएका छन् ।
देशका अतिविशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरी महोत्सवको उद्घाटन गराएर आर्थिक अनियमितताको ढाकछोप गर्ने गरिएको उनीहरुको आरोप छ ।
प्रत्येक वर्ष अश्लिल ओरकेष्ट्रा नचाउने ओरकेष्ट्रा पार्टी एसराज प्रोडक्सनको बिल काटेर करौडौँ रुपैयाँ झ्वाम्म पार्ने गरिएको छ ।
तराई मधेशमा अश्लिल गीतमा नृत्य गर्ने, कामुक हाउभावको नृत्य गर्नेलाई छौडीनाच भन्ने गरिन्छ । यहाँ सो नाचलाई केटीनाच भनेर प्रचलित रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…