जनकपुरः सिडिओ कार्यालयमा दलाल भगाउन सेवाग्राहीलाई कम शुल्कमा फाराम भर्न सुरु
अधिकृत सङ्गमले गरेको आम्दानीबाट संगमका कर्मचारीहरूको हकहितका साथै सामाजिक क्षेत्रमा विभिन्न प्रकारको कामकाज गर्दै आएको छ । साथै आम सेवाग्राहीबाट लिएको न्यून सेवा शुल्कबाट विवरण सङ्कलनमा खटिने कर्मचारीको तलब तथा उपकरण खरिद र सञ्चालनमा लाग्ने खर्च बेहोरिने भएको छ ।

२०७९ माघ २४ मंगलबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा पटक पटक बिचौलिया (दलाल) पक्राउ परेपछि सो अवस्थालाई विस्थापित गर्न कम शुल्कमा फाराम भर्न सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिचौलिया नियन्त्रणका लागि धनुषाका अधिकृत कर्मचारीहरूको संस्थाको रुपमा रहेको अधिकृत सङ्गमले न्यून सेवा शुल्क लिएर राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था शुरु गरेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको निर्देशनमा अधिकृत संगम धनुषाले त्यसका लागि कम्प्युटर, प्रिन्टर खरिद गरेर दुई जना कर्मचारी परिचालन गरेको छ ।
व्यवस्थित तरिकाले अधिकृत संगम धनुषाले नै न्यून सेवा शुल्क लिएर राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था गरेपछि सेवाग्राहीहरू खुसी भएका छन् । बाहिर दुई सयदेखि ५ सयसम्म पनि लिने गरेकोमा अधिकृत सङ्गमले १ सय सेवा शुल्कमा अनलाइन मार्फत विवरण भर्ने व्यवस्था शुरु गरेको हो ।
बाहिर हुने ठगीबाट जोगिने भएपछि सेवाग्राहीहरूले जिल्ला प्रशासन कार्यालय धनुषाको उक्त कार्यको सराहना गरेका छन् ।
अधिकृत सङ्गमले गरेको आम्दानीबाट संगमका कर्मचारीहरूको हकहितका साथै सामाजिक क्षेत्रमा विभिन्न प्रकारको कामकाज गर्दै आएको छ । साथै आम सेवाग्राहीबाट लिएको न्यून सेवा शुल्कबाट विवरण सङ्कलनमा खटिने कर्मचारीको तलब तथा उपकरण खरिद र सञ्चालनमा लाग्ने खर्च बेहोरिने भएको छ ।
अधिकृत सङ्गमले राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेर प्रदान गर्ने गरेको प्रिन्ट कपी लिएर जिल्ला प्रशासन कार्यालयको परिचयपत्र बनाउने शाखामा गएपछि तुरुन्तै परिचयपत्रका लागि थप विवरण लिने भएको छ ।
निकट भविष्यमा नै अधिकृत सङ्गमबाट अनलाइन पासपोर्टको फारम भराउने कामको सुरुआत गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…