पुनः मतगणना गर्न उच्च अदालत जनकपुरको आदेश
कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ ।

२०७९ पुस २४ आइतबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत चुनावमा असन्तुष्टि व्यक्त गर्दै पुनः मतगणनाको माग गर्दै परेको रिटमा अदालते पुनः मतगणनाको आदेश दिएको छ ।
मधेश प्रदेशको सर्लाहीको हरिवन वडा नम्बर ७ को पुनः मतगणना हुने भएको छ ।
उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन–७ को वडाध्यक्षमा यसअघिको मतगणना रद्द गरी पुनः मतगणनाका लागि आदेश दिएको छ ।
स्थानीय निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको मतगणना अनुसार हरिवन–७ का वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भइ कार्यरत छन् ।
निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३७८ मत पाएका थिए ।
कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ ।
रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…