जसपाको सँसदीय दलमा रामसहाय यादव निर्विरोध, बाराबाट सँसद बन्ने दाउमा उपेन्द्र यादव
रिक्त पदपूर्तिका लागि यहाँ उपनिर्वाचन गर्नुपर्नेछ र यही सिटबाट आफूले चुनाब जितेर सांसद बन्ने उपेन्द्र यादवको योजना रहेको स्रोत बताउँछ । यहाँबाट यादवले जितेसँगै उनकै नेतृत्वमा पार्टी सरकारमा जाने योजना रहेको स्रोतले बतायो ।

२०७९ पुस १३ बुधबार, दिउँसो १२:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भर्खरै सम्पन्न आम निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बरभन्दा धेरै मतान्तरले पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सांसद् बन्दै मन्त्री बन्ने खेल सुरु भएको छ । यसका लागि उनले उपराष्ट्रपति पदलाई हतियार बनाउने भएका छन् ।
जसपाको संसदीय दलको निर्वाचनको क्रममा रामसहाय यादव निर्विरोध चयन भएका छन् । यो निर्वाचनमा पार्टीका संघीय परिषदका अध्यक्ष अशोक राई समेत आकांक्षी देखिएका थिए ।
रामसहाय यादवलाई अध्यक्ष उपेन्द्र यादव पक्षको समर्थन भएपछि संसदीय दलको निर्वाचनमा रामसहाय प्रसाद यादवलाई जिताउँदै अशोक राईलाई पन्छाईएको हो ।
संसदीय दलको नेतामा आफ्नो पक्षका सांसदहरुले जितेसँगै दलमा आफ्नो पकड हुने यादवको विश्वास छ । यससँगै सरकारलाई समर्थन गरेको जसपाले पदको बाँडफाँडको क्रममा उपराष्ट्रपति आफूले पाउनुपर्ने माग गर्नेछ। त्यसपछि उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई नै पठाउने उपेन्द्र यादवको तयारी छ ।
राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र फरक जातीय समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार मधेशी समुदायका पुरुष यादव उपराष्ट्रपति बनेपछि राष्ट्रपति यसबाहेक फरक लिंग र समुदायको हुनुपर्नेछ ।
यही संवैधानिक व्यवस्था अनुसार एमालेले पाउने राष्ट्रपति पदमा अष्टलक्षी शाक्यलाई राष्ट्रपति बनाउनेगरी सहमतिको प्रयास भइरहेको बताइएको छ ।
रामसहाय उपराष्ट्रपति बनेर गएपछि उनले सांसद पदबाट राजीनामा दिनुपर्नेछ । उनले राजीनामा दिएसँगै बारा २ को प्रतिनिधि सभाको सिट रिक्त हुनेछ ।
रिक्त पदपूर्तिका लागि यहाँ उपनिर्वाचन गर्नुपर्नेछ र यही सिटबाट आफूले चुनाब जितेर सांसद बन्ने उपेन्द्र यादवको योजना रहेको स्रोत बताउँछ । यहाँबाट यादवले जितेसँगै उनकै नेतृत्वमा पार्टी सरकारमा जाने योजना रहेको स्रोतले बतायो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…