प्रहरी एसपी यादव भ्रष्टाचारी ठहर, नोकरी चैट्ट
प्रहरी वृत्त ललितपुर सातदोबाटोको प्रमुख हुदाँ र सिन्धुली प्रहरी प्रमुख हुँदा पनि उनी विवादित बनेका थिए। उनीमाथि सिन्धुलीमा गाँजा तस्कर र क्रसर व्यवसायीहरुबाट समेत रकम असुली गरेको आरोप लागेको थियो।

२०७९ पुस ८ शुक्रबार, दिउँसो ४:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीका प्रहरी एसपी रामेश्वर प्रसाद यादवको नोकरी चैट्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका एसपी यादवको जागिर गएको हो। उनी भ्रष्टाचार मुद्दामा दोषी साबित भएपछि जागिर गएको हो ।
भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि एसपी यादव बर्खास्तीमा परेका हुन्। डीएसपी भएको बेला २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा गरेको आर्थिक अनियमितता गरेको भन्दै यादवविरुद्ध मुद्दा दर्ता भएको थियो।
त्यतिबेला उनले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। आर्थिक अनियमितता र लागु औषध मुद्दामा पैसा लिएर मिलाएको पाइएको भन्दै अख्तियारले यादव र हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परेका थिए।
त्यतिबेला निलम्बनमा परेका उनी विशेष अदालतले सफाइ दिएपछि पुनः सेवामा फर्किएका थिए। विशेष अदालतले सफाइ दिने पनि सरकारी वकिल कार्यालय भने विशेष अदालतको फैसलामा चित्त नबुझाउँदै सर्वोच्च अदालत पुगेको थियो।
सर्वोच्चले मुद्दा दायर भएको करिब साढे ७ वर्षमा फैसला गर्दै एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको हो। २२औं पटकको पेसीमा भएको सुनुवाइपछि पुस ५ गते सर्वोच्चले विशेष अदालतको फैसला उल्टाउँदै यादव र गुरुङलाई दोषी ठहर गरेको हो।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरको हो। भ्रष्टाचारको कसुरमा दोषी ठहर भएसँगै उनीहरु पदबाट बर्खास्तीमा पर्नुका साथै जेल समेत जानु पर्ने अवस्था आउँछ।
सर्वोच्चले दोषी ठहर गरिसके पनि सजाय निर्धारण भने गर्न बाँकी नै छ।
यादव विवादै विवादले घेरिएका प्रहरी अधिकृत हुन्। उनी जहाँ कार्यरत रहे त्यहाँ विवाद भएको देखिन्छ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रहँदा एसपी यादव निलम्बनमै परेका थिए। उनले बडीगार्ड र चालकमार्फत् ट्राफिकमा रहँदा रकम असुल्ने गरेको भन्दै निलम्बन गरिएको थियो। पछि भनसुन गराएर यादवले निलम्बन फुकुवा गराएका थिए।
यादव २०५५ मा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गरी २०५८ सालमा प्रहरीमा स्थानान्तरण भएका थिए। यादव २०७६ असोजदेखि २०७७ भदौसम्म कर्णाली प्रदेशको ट्राफिक प्रमुख भएर बसेका थिए।
प्रहरी वृत्त ललितपुर सातदोबाटोको प्रमुख हुदाँ र सिन्धुली प्रहरी प्रमुख हुँदा पनि उनी विवादित बनेका थिए। उनीमाथि सिन्धुलीमा गाँजा तस्कर र क्रसर व्यवसायीहरुबाट समेत रकम असुली गरेको आरोप लागेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…