जनकपुरका यी दुई वडाध्यक्षबीच कुटाकुट, एक अस्पताल भर्ना
एमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि आयोजित बैठकपश्चात आयोजित खानपिनको क्रममा सामान्य विवाद भएको थियो ।

२०७९ कार्तिक १६ बुधबार, बिहान ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका दुई वडाध्यक्षबीच कुटाकुट भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेश सिंहले वडा नम्बर ५ का वडाध्यक्ष बेचन साहमाथि कुटपिट गरेको आरोप लगाइएको छ ।
सिंहले नेकपा एमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा वडाध्यक्ष साहमाथि कुटपिट गरेको आरोप लगाइएको हो ।
मंगलबार नेकपा एमालेको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा जनकपुरधामको १५ वटा वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूसँग आयोजित चुनावी छलफलमा खानपिनको विषयमा विवाद हुँदा कुटपिट भएको बताइएको छ ।
वडा नम्बर ८ का वडाध्यक्ष दिनेश सिंह र वडा नम्बर १ का एमालेका वडाध्यक्ष पदका प्रत्यासी रहेका लव अधिकारीले एमालेबाटै निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष बेचन साहलाई कुटपिट गरेका छन् ।
एमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि आयोजित बैठकपश्चात आयोजित खानपिनको क्रममा सामान्य विवाद भएको थियो ।
सोही क्रममा वडाध्यक्ष सिंहले लवलाई निर्देशन दिँदै अर्का वडाध्यक्ष साहमाथि एक्कासी हातपात गर्न लगाएका आरोप लागेको छ ।
घाइते वडाध्यक्ष साहलाई शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
यस सम्बन्धमा बुझ्नका लागि वडाध्यक्ष सिंहलाई पटकपटक फोन गरेपनि उनले फोन रिसिभ गरेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…