अन्ततः ओलीसँगै यादव, एमालेलाई ३५ र जसपालाई १७ सिट
प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

२०७९ असोज २२ शनिबार, दिउँसो ३:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । केपी ओली नेतृत्वको नेकपा एमाले र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ ।
दुवै पार्टीको अध्यक्षबीच शनिबार दिउँसो १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको हो ।
मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।
यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ ।
प्रतिनिधिसभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन ।

प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमति पत्रमा भनिएको छ, ‘तालमेल भएका उपरोक्त निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवार दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति गरियो ।’
विगत ८ बर्षदेखि उपेन्द्र यादव नेतृत्वको तत्कालिन एवम् वर्तमान पार्टीका नेता कार्यकर्ताहरुले ओली नेतृत्वको एमाले पार्टीलाई विपक्षी बनाएर विरोध गर्दै आएको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…