मधेश प्रदेशः दुर्गाको मूर्तिमा ७५ तोला सुनको गहना, सुरक्षाको लागि प्रहरी परिचालन
गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । मेला समापनपछि ती गरगहना विकास समितिले स्थानीय बैङ्कको लकरमा राख्ने निर्णय भएको बताइएको छ ।

२०७९ असोज १७ सोमबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित दुर्गाको मूर्ति (प्रतिमा) मा ७५ तोला सुनको गहना चढाइएको छ ।
लहानस्थित दुर्गा मन्दिरभित्र विजयादशमीको मेलाका लागि स्थापित दुर्गा माताको मूर्तिलाई सजाउन ७५ तोला सुनको गरगहना बनाइएको छ । वर्तमान सुनको मूल्यको हिसाबले ७५ तोला सुनको मूल्य करिब ७० लाख रुपैयाँ हुन्छ ।
माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा लहानका अध्यक्ष विकास शारदाले जानकारी दिए ।
माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोलाको छ । त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का छन् ।
ती सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट सङ्कलन गरिएको आर्थिक सहयोगबाट निर्मित भएका हुन् ।
माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेत चाँदीका गरगहनाले सजाइएका छन् । अन्य देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृङ्गार तथा हातहतियार पाँच केजी चाँदीका छन् ।
मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । मेला समापनपछि ती गरगहना विकास समितिले स्थानीय बैङ्कको लकरमा राख्ने निर्णय भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…