हिजो मधेशमा एमालेलाई निषेध गर्नेहरु आज सयौँ किलोको माला लिएर स्वागत गर्दैछः ओली
पार्टी प्रवेश कार्यक्रममा ओलीलाई ३०५ किलोको माला लगाएर स्वागत गरिएको थियो । लोसपाबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनीधिसभा सदस्य उमाशँकर अरगरियासहित दर्जनौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए ।

२०७९ असोज ८ शनिबार, राति ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा एमाले पस्नेहरुको लहर चल्दा मधेशमा एमालेको लोकप्रियता झल्काएको बताएका छन् ।
शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रभित्र रहेको धनुषाको तिनकोरिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले मधेशमा एमाले प्रवेश गर्नेहरुको लहर चलेको बताए ।
उनले यसअघि मधेशमा एमालेलाई प्रवेश निषेध गरिएकाहरुले पनि सयौँ किलोको माला लिएर स्वागत गर्न आतुर भएको सुनाए ।
मधेश आन्दोलनको बेला तराई मधेशमा एमालेको बारेमा गलत समाचार र भ्रम फैलाएर विपक्षीहरुले लासमाथि राजनीति गरेको आरोप लगाए ।
उनले एमालेको बारेमा भ्रम फैलाउँदै मधेश प्रवेशमा रोक लगाउँदा पनि विभिन्न स्थानबाट एमालेले सीट ल्याउँदा विपक्षीहरुको पनि भ्रम भत्केको बताए ।
उनले मेचीकाली अभियान चलाउँदा सप्तरीमा राज्यपक्षले गोली चलाएर नागरिकको हत्या गराएको आरोप पनि लगाए ।
ओलीले भने ‘मेची काली अभियानको क्रममा राज्य पक्षले गोली चलायो । हाम्रै नागरिक मारियो भनेर दुख लाग्यो । त्यो कार्यक्रम रोकेँ । मधेश प्रवेश कार्यक्रम स्थगित गरेँ’ उनले भने ।
‘हामीले काम मात्रै गर्यौं । हाम्रो काम देखेर तराई मधेशसहित पूर्व मेचीदेखि पश्चिम महाकालीस्म एमाले प्रवेशको लहर चलेको छ’ ओलीले भने ।
पार्टी प्रवेश कार्यक्रममा ओलीलाई ३०५ किलोको माला लगाएर स्वागत गरिएको थियो । लोसपाबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनीधिसभा सदस्य उमाशँकर अरगरियासहित दर्जनौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…