मधेशमा कठोर पर्व जितिया आजदेखि सुरु
उहाँले पितृ पक्षमा मनाइने यस पर्वमा महिलाले पनि आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउने गरेकाले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गरेको बताउनुभयो ।

२०७९ भदौ ३१ शुक्रबार, बेलुकी ६:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
व्रत बस्नुअघि आज (शुक्रबार) को दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । आजको दिनलाई ‘नहा, खाय’ अर्थात् नुहाएर खानु भनिन्छ ।
भोलि शनिबार बिहान ४ बजेदेखि पानीसमेत नखाई उपवास बसेका बर्तालु महिलाले पर्सि आइतबार बिहान १० बजे व्रत सम्पन्न गर्ने छन् ।
बर्तालुुले आज जनकपुरधामको पवित्र जलाशय गङ्गासागर, अरगजसर, धनुष सागर, गोरधोइ पोखरीलगायत पोखरी र नदीमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरेका छन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ ।
व्रत बस्नु अघिल्लो दिन आज बर्तालुुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा माछ मरुवा (माछा र कोदो) भनिन्छ ।
विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओठगन सम्पन्न गर्नुपर्छअर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।
धेरैजसो महिलाले ओठगनमा च्युरा, दही खाने गर्दछन् । त्यसपछि विकट उपवासका क्रम सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यस व्रतको विशेष महत्व रहेको पण्डित लालबाबु झा बताउनुहुन्छ ।
पण्डित झाले सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको छुट्टै धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको बताउनुभयो ।
उहाँले पितृ पक्षमा मनाइने यस पर्वमा महिलाले पनि आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउने गरेकाले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गरेको बताउनुभयो ।
पुरोहित इन्द्रकान्त झाले मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई निकै पवित्र व्रतका रुपमा मानिने गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उपवास बसेका दिन महिलाले डकार (ढ्याउ) गरे अथवा मुखले खकार (थुक निल्नु) वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खर जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।”
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको पौराणिक कथन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…