जनकपुरः ७ बर्षदेखि सदा परिवार प्लाष्टिकको झुपडीमा
सात वर्षअघिसम्म सदाको खरले छाएको र बाँसको बेरा भएको घर थियो । हुरीबतासका कारण त्यो घर भत्किएपछि पुनः नयाँ घर बनाउने सादाको हैसियत पुगेन र त्रिपालको झुपडी बनाएर बस्दै आएका छन्, छिमेकी रामदयाल माझीले बताए ।

२०७९ भदौ ४ शनिबार, बेलुकी ५:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा पर्ने धनुषाको शहिदनगरमा एक मुसहर परिवार विगत ७ बर्षदेखि प्लास्टिकको झोपडीमा जीवन बिताउन बाध्य छन् ।
धनुषाको शहीद नगरपालिका वडा नम्बर ५ पचहरवास्थित मुसहर टोलको एक मुसहर परिवार गरिबीका कारण बिचल्लीमा परेका छन् । मुसहर टोलका ३५ वर्षिय सत्रुधन सदाको परिवारका सदस्य खान, बस्न र लाउनु समस्याले बिचल्लीमा परेका हुन् ।
सदाको आर्थिक अवस्था दयनीय छ । आर्थिकरुपले लाचार सदाले बस्ने घरसमेत बनाउन नसक्दा विगत सात वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको छाप्रोमा सपरिवार बस्दै आएका छन् ।
प्लाष्टिकको छाप्रोमा वर्षा र शीतलहरको बेला निकै समस्या खेप्नुपर्छ । वर्षाको पानी जताततै चुहिन्छ । वर्षाको बेला बसेर समय बिताउनुपर्छ । त्यस्तै शीतलहरको समयमा बस्नै नसक्ने गरी चिसो लाग्छ, सदाले बताए ।
‘दुइ छाक पेट भर्ने पैसा छैन । कसरी बनाउनु घर’ उनले दुखेसो सुनाए । खुट्टाले अपाङ्तासमेत रहेका सदाको श्रीमती र चार छोराछोरीसहित छ जनाका परिवार छन् । श्रीमती रेणुदेवी सदा पनि सुस्तमनस्थितिकी छन् ।
सदाको एक महिनाको छोरा पनि छ । आर्थिक अवस्था नाजुक भएकै कारण दुधे बालक र छोराछोरीको राम्ररी स्याहारसमेत गर्न सकेको छैन ।
गाउँघरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सदाको परिवारका सदस्यले पेटभरि खान नपाएको बर्षौं भइसकेको छ । आङ छोप्न लत्ताकपडाको पनि उस्तै समस्या छ ।
मुसहर टोलको बीच वस्तीमा ऐलानी दुइ धुर जमिनमा झुपडी बनाएर बसेका सदाले मजदुरीबाट सीमित आम्दानी हुने भएकाले परिवारको आवश्कक्ता पुरा गर्न नसकेको बताउँछन् ।
सात वर्षअघिसम्म सदाको खरले छाएको र बाँसको बेरा भएको घर थियो । हुरीबतासका कारण त्यो घर भत्किएपछि पुनः नयाँ घर बनाउने सादाको हैसियत पुगेन र त्रिपालको झुपडी बनाएर बस्दै आएका छन्, छिमेकी रामदयाल माझीले बताए ।
“झुपडीको प्लाष्टिक पनि च्यातिन लागेको छ, खानेकुरा केही छैन, लत्ताकपडा छैन, ओढ्ने–ओछ्याउने कपडासमेत नहुँदा पराल ओछ्याएर सुत्न बाध्य छन् । सदा परिवारको बडो बिजोग छ,” उनले भने ।
खान लाउन अभावकै कारण सादाको श्रीमती एक महिनाको दुधे बालक बोकेर गाउँघरमा माग्न पुग्छन् । दया हुनेले अन्नपात दिन्छन् त्यही अन्नपात ल्याएर भोक टार्छन, अर्का छिमेकी श्रीप्रसाद सदाले बताए ।
एक महिनाअघि सादाको श्रीमती त्यहीँ झुपडीमा सुत्केरी भएकी थिइन् । त्यतिखेर छिमकी महिलाहरुले एक सातासम्म सुत्केरी र जन्मजात बच्चाको स्याहार गरेको थियो ।
सुत्केरी पश्चात सुत्करी र जन्मजात बच्चालाई गरिने स्वास्थ्य जाँच समेत गराएको छैन, स्कुल जाने उमेरका तीन छोराछोरीले पढ्नसमेत पाएका छैनन्, छिमेकी सदाले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…