धनुषाः स्कूलमा बालकलाई करेन्ट लगाएर यातना !
विद्यालयको अनुसार, होस्टेलबाट कैयौँ पटक भागेका गणेश बुधबार पनि तेस्रो तल्लाबाट तार समातेर, रोड समातेर बाहिरैबाट भागेको हो । उनले भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद समेत भएको बताइएको छ ।

२०७९ भदौ २ बिहीबार, बिहान १०:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित एक नीजि विद्यालयमा विद्यार्थीलाई करेन्ट लगाएर यातना दिएको आरोप अभिभावकले लगाएका छन् ।
धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ६ तिनकोरिया चोकस्थित रहेको केसी विद्या मन्दिर (स्मार्ट) मा अध्ययनरत एक विद्यार्थीलाई सोही विद्यालयका एक शिक्षकले करेन्ट लगाएर यातना दिएको आरोप लगाइएको छ ।
बुधबार केसी विद्या मन्दिरको होस्टेलमा बस्दै आएका धनुषाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैया बस्ने विशेश्वर महतोको अन्दाजी बर्ष ९ को छोरा गणेश कुमार महतोलाई हातमा करेन्ट लगाएर यातना दिएको आरोप बालकले लगाएका छन् ।
बुधबार राती उपचारको लागि स्थानीय एक क्लीनकमा गएपछि शिक्षकले यातना दिएको कुरा बाहिरिएको उनका अभिभाकले बताएका छन् ।
होस्टेलमा बस्दै आएका गणेशले यसअघि दुई पटक भागेको र पुनः भाग्ने भन्दै उनलाई एउटा कोठामा लगी आँखामा पट्टि बाँधेर यातना दिएको गुनासो गरेका छन् ।
गणेशको हातमा चोटपटक लागेको देखिएको छ । उनको औँलाहरुमा आगोले पोलेको जस्तो देखिन्छन् । यद्यपी, लठ्ठीको निशान वा करेन्ट लागेको भनेर अझै यकिन भएको छैनन् ।
गणेशका अनुसार, उनलाई कोठामा लगेर आँखामा गम्छाको पट्टि बाँधेर दुई पटक लठ्ठीले हानेको थियो । त्यसपछि लठ्ठीले नहानेर केही तार जस्तो छोवाएको थियो । उनले भने,–“केही छुन लगाएको थियो छुवाउँथ्यो फेरी हटाउँथ्यो, के थियो हेर्न पाएन मैले । आँखामा गम्छा बाँधेकोले केही हेर्न पाएन् । त्यसपछि कसैलाई भने पुनः कुटने धम्की दिनुभयो । अनि कसैलाई पनि थाहा भएन ।”
यता, विद्यालय प्रशासनले सो विद्यार्थीलाई कसैले कुटपिट नगरेको दाबी गरेका छन् । गणेशलाई कुनै प्रकारको यातना नदिएको दाबी विद्यालय प्रशासनले गरेको छ ।
विद्यालयको अनुसार, होस्टेलबाट कैयौँ पटक भागेका गणेश बुधबार पनि तेस्रो तल्लाबाट तार समातेर, रोड समातेर बाहिरैबाट भागेको हो । उनले भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद समेत भएको बताइएको छ ।
विद्यालय सँचालक जीतेन्द्र साहका अनुसार, गणेश होस्टेलबाट भाग्दा उनको हातमा चोट लागेको हुन सक्ने बताएका छन् । रडहरु समातेर पर्खाल नाघी भागेको भन्दै शिक्षकले कुनै प्रकारको कुटपिट नगरेको दाबी गरेका छन् ।
सोही घटनामा आफ्नो बच्चालाई विद्यालयले यातना दिएको भन्दै प्रहरी चौकी तिनकोरियामा उजुरीको लागि अभिभाकहरु पुगेका छन् ।
प्रहरी चौकी तिनकोरियाले यस सम्बन्धमा अभिभावक आएपछि उजुरीको आधारमा अनुसन्धान थाल्ने बताएको छ । सिसिटिभी फुटेज हेरी सोही अनुसार अनुसन्धान गर्ने बताए ।
यता, गणेशले समेत आफूलाई कुटपिट गरेपछि आफू भागेको स्वीकारेका छन् । उनले आफू मुख्य गेटबाटै आएको पनि बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…