Close This

धनुषा बटेश्वर गाउँपालिकाका हाकिम निलम्बनमा 

२०७९ श्रावण १६ सोमबार
बेलुकी ६:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लाको एक स्थानीय तहका हाकिम (प्रमुख प्रशासकीय अधिकृत) उपर भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका छन् । 

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा कार्यरत रहँदै आएका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका छन् । 

यसअघि अर्घखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा हाकिम भएको बेला फर्निचर खरिदमा व्यापक अनियमितता गरेको आरोपमा उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो । 

सो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा आर्थिक वर्ष २०७३।०७४ मा फर्निचर खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा जोशीमाथि ४ लाख ४७ हजार ५ सय बिगो मागदावीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएपछि उनी स्वतः निलम्बनमा परेका छन् । 

हाल धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत रहेका हाकिम जोशीले वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले भ्रष्टाचार गरेको ठहर गरी अख्तियारले मुद्दा दायर गरेको हो। 

जोशी सरुवा भएर त्यो पालिकाबाट गएपश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने, दिने कार्य गरेको, फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरु मध्ये रु। ४ लाख ४७ हजार ५०० बराबरका सामग्रीहरु कार्यालयमा नरहेको अख्तियारले जनाएको छ। 

जोशीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि हुन आएकोले हानिनोक्सानी गरेको बिगो चार लाख ४७ हजार ५ सय बिगो कायम  ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐनको दफा ३ (१) (घ) बमोजिम कैद सजायको मागदाबी गरिएको छ। 

एकवर्ष अघि बटेश्वर गाउँपालिकामा सरुवा भएर आएपछि तत्कालिन गाउँपालिका प्रमुख डम्बर बहादुर राउत क्षेत्रीलाई प्रभावमा पारेर व्यापक अनियमिता गरेको आरोप छ। 

केही दिनअघि गालीगलौज गरेको भन्दै उनलाई कार्यालयमै कर्मचारीहरुले कुटपिट गरेका थिए। त्यस बेलादेखि उनी कार्यालय आउन छाडेका छन्।


  • 0%
  • 50%
  • 25%
  • 0%
  • 0%
  • 0%

  • २०७९ श्रावण १६ सोमबार

Bureau Menus