जानकी मन्दिरका छोटे महन्थ माथि उजुरी, दास भन्छन- 'झुठो हल्ला फैलाइयो'
उनले भने, ‘महन्थजीले पनि मबाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीहरु समक्ष नै बताइसकेका छन् । यस्तो अवस्थामा मैले किर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो । यो सरासर गलत हो । म आफैं आश्चर्यचकित छु ।’

२०७९ साउन १४ शनिबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएको आरोप लगाउँदै जानकी मन्दिरका सहायक महन्त रामरोशन दासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ ।
दासले सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएर मन्दिरको श्रीसम्पत्ति हिनामिना गरेको भन्दै उजुरी परेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने वैजनाथ चौधरीले गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोद्धार्थ गरी साउन ४ गते नै निवेदन दिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
उनले भने, ‘सहायक महन्थ दासले सरकारी कागजको रूपमा आफ्नो नाममा मन्दिरको उत्तराधिकारी महन्तको किर्ते परिचयपत्र बनाई गुठी संस्थानको पनि किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ ।’

निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेको बारे आफूलाई कुनै जानकारी नरहेको सहायक प्रजिअ भण्डारीले बताए ।
यता, सहायक महन्थ दासले जानकी मन्दिरमा डेढ वर्षअघि नै गुठी संस्थानले आफूलाई बोडैको बैठकबाटै औपचारिक रुपमा उत्तराधिकारी महन्थ नियुक्त गरेको दाबी गरेका छन् ।
उनले जानकी मन्दिरमा सुरुदेखि नै गुरु शिष्य परम्परा रहेको र सोही आधारमा महन्थ रामतपेश्वर दास वैष्णवले पनि आफूलाई उत्तराधिकारी महन्थ घोषणा गरिसकेको बताए ।
उनले भने, ‘महन्थजीले पनि मबाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीहरु समक्ष नै बताइसकेका छन् । यस्तो अवस्थामा मैले किर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो । यो सरासर गलत हो । म आफैं आश्चर्यचकित छु ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…