जानकी मन्दिर क्षेत्रको फुटपाथ खाली गराएपछि षडयन्त्रको शिकार भए : मेयर साह
मेयर साहले फुटपाथबाट हटाइएका व्यापारीहरुलाई उचीत व्यवस्थापनको लागि पहल थालिएको बताए । उनले सडकको पेटीमा व्यापार गर्न निश्चित ठाउँ उपलब्ध गराउने बताउँदै सडक नै कब्जा हुने गरी व्यापार नगर्न आग्रह गरे ।

२०७९ साउन १० मंगलबार, बेलुकी ६:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जानकी मन्दिर क्षेत्रको फुटपाथ खाली गराएपछि षडयन्त्रको शिकार भएको बताएका छन् ।
सोमबार जानकी मन्दिर आसापास क्षेत्रको फुटपाथ खाली गराएपछि केही व्यापारीहरुलाई जानकी मन्दिरको प्राँगनमा राखेर षडयन्त्र गरिएको बताएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर साहले जनकपुरको फुटपाथ खाली गराउन थालेपछि केही राजनीतिक दलका प्रतिनीधिहरुले षडयन्त्रपूर्वक फुटपाथ व्यापारीहरुलाई जानकी मन्दिरमा लगेको बताएका छन् ।
जानकी मन्दिर सौन्दर्यीकरणकै लागि जानकी मन्दिर आसपासको फुटपाथ खाली गराएको बताउँदै उनले भने,–“मन्दिर सौन्दर्यीकरणको हिसाबले फुटपाथ खाली गराए, अब नगरपालिकाले नै फुटपाथ खाली गराएपछि पुनः जानकी मन्दिरमा कसरी व्यवस्थापन गर्छ आफैँ सोच्नुस न । यस्तो सार्वजनिक कार्यमा पनि केही जनाले राजनीतिक प्रतिशोध साध्न थालेका छन् । जानकी मन्दिरभित्र फुटपाथको व्यापारीलाई कदापी व्यवस्थापन गर्न सकिदैन । मन्दिर व्यवस्थापन पक्षलाई त्यहाँबाट हटाउन निर्देशन दिएको छु ।”
जनकपुरधाम क्षेत्रभित्रको फुटपाथमा व्यापारीहरुले सडक नै कब्जा गर्ने गरी बस्न थालेपछि मेयर साहले फुटपाथ खाली गराउन सूचना गरेका थिए । सूचनाको अटेरी गरेपछि नगर प्रहरी, नेपाल प्रहरी लगाएर फुटपाथ खाली गराएको हो ।
जानकी मन्दिरको अगाडीको फुटपाथ, उत्तरपट्टिको फुटपाथ, दक्षिण पट्टिको फुटपाथ सोमबार बलपूर्वक खाली गराएपछि केही व्यापारीहरुलाई स्थानीय केही नेताहरुले जानकी मन्दिरभित्र पस्न लगाएको बताइएको छ ।
मेयर साहले आफूलाई बदनाम गर्नको लागि पनि समाजिक सँजालदेखि अन्य सँचारमाध्यमहरुमा पनि आफू विरुद्ध षडयन्त्र गरी दुश्प्रचार गरेको भन्दै खण्डन गरे ।
जानकी मन्दिरको परिसर तुरुन्त खाली गराउनको लागि मन्दिर व्यवस्थापन समितिसहित महन्थलाई समेत आग्रह गरेको मेयर साहले बताए ।
उनले जानकी मन्दिरकै लागि फुटपाथ खाली गराएको भन्दै जानकी मन्दिर क्षेत्रभित्र सडक कब्जा, क्षेत्र कब्जा गर्ने व्यापारीलाई कारवाही हुने बताए ।
मेयर साहले फुटपाथबाट हटाइएका व्यापारीहरुलाई उचीत व्यवस्थापनको लागि पहल थालिएको बताए । उनले सडकको पेटीमा व्यापार गर्न निश्चित ठाउँ उपलब्ध गराउने बताउँदै सडक नै कब्जा हुने गरी व्यापार नगर्न आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…