आरोपीलाई रिहा गर्न न्यायधीश नै २ करोड घुस मागेको अडियो लीक, न्यायपरिषदको ईमरजेन्सी बैठक
न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार बैठक बोलाएका हुन् ।

२०७९ असार ८ बुधबार, बिहान ११:४६ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अर्बो रुपैयाँ घोटाला प्रकरणमा थुनामा रहेका एक आरोपीलाई धरौटीमा रिहा गर्न अदालतको न्यायधीश नै २ करोड घुस मागेको खुलासा भएको छ ।
सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न भएको असफल डिलको अडियो रेकर्ड ‘ न्यूज २४ टेलिभिनजको चर्चित कार्यक्रम सिधा कुरा जनतासँग’ मा प्रसारण भएपछि तरँग भएको छ ।
२ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा गराउन काठमाडौँ जिल्ला अदालतका न्यायाधिस राजकुमार कोइराला र तामाङको पक्षमा बहस गरिरहेका वकिल रुद्र प्रसाद पोख्रेलबीच एउटा खतरनाक डिल भएको तथ्य बाहिरिएको हो ।
१० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो । वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबीच भएको गोप्य सम्वादमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल अडियो रेकर्डमा सुनिएको छ ।
अधिवक्ता र न्यायाधीशबीच भएको सम्वादमा न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा छाड्ने आँट गर्न सक्दैनन् । उनी केही डराएको जस्तो सुनिन्छ । तामाङ रिहा भएको विषय पत्रपत्रिकामा आएमा त्यसले आफ्नो जागिर जान सक्ने शंका पनि उनले गरेका छन् ।
तर न्यायाधीश कोइरालालाई अधिवक्ता पोख्रेलले सबै चाँजोपाँचो आफूले मिलाउने भन्दै उक्साउँछन् ।
अधिवक्ता र न्यायाधीशबीच करिब १० मिनेट कुरा भएको छ । कुराकानीका क्रममा पोख्रेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई समेत जिल्लाका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने वाचा गरेको सुनिन्छ ।
अडियोमा राजुकुमार खतिवडाको नाम उल्लेख छैन । तर जिल्लाका एक नम्बर भन्नाले मुख्य न्यायाधीश राजुकुमार खतिवडा हुन् भन्ने बुझ्न गाह्रो छैन ।
यो गोप्य अडियोको लगभग १० मिनेट लामो छ । यो डिल भएर पनि न्यायाधीश राजकुमार कोइरालाले तामाङलाई १० करोड धरौटी मागेर रिहा गर्दैनन् । तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश २०७८ पुस १४ गते दिन्छन् ।
एकातिर १० करोड धरौटीको कुरा, अर्कोतिर आरोपीहरुलाई पुर्पक्षमा पठाएपछि न्यायाधीश र अधिवक्ताबीच भएको डिल असफल भएको पुष्टि हुन्छ । यो डिल किन असफल भयो रु भन्ने स्पष्ट भइसकेको छैन ।
इच्छाराज तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो ।
अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा छन् ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।
प्रहरीका अनुसार यो नेपालकै सबैभन्दा ठूलो ठगी प्रकरण हो । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरुलाई जेल चलानको आदेश दिएको थियो ।
तामाङले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजको प्रलोभनमा पारेर सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए ।
ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।
पीडित बचतकर्ताहरुले आफ्नो बचतको रकम यस सहकारीबाट करिब तीन बर्ष देखि पाएका छैनन् ।
यती धेरै रकम सहकारीबाट अपचलन गरेर लगेपछि तामाङले सो रकम आफ्ना, आफ्नी श्रीमती र दुई छोरीहरु, केशव लाल श्रेष्ठ र उनले भनेको मान्ने मान्छेका नाममा राखेको बताइन्छ । उनले खोलेका २२ वटा निजी कम्पनीमा पनि रकम लगानी गरेका छन् । केही रकम बेलारुस पुरयाएको पनि बताइन्छ ।
तामाङले करिब एक अर्ब पर्ने सिभिल सहकारीको काठमाडौंको सोल्टिमोड स्थित भवन पनि गैर कानुनी रुपले आफ्ना निजी कम्पनिमा नामसारी गरेर लगेको त्यहाका पूर्व कर्मचारिहरुले लिखित रुपमा बताएका छन् ।
न्यूज २४ ले न्यायाधीश र वकिलबीच १० करोड लेनदेन गर्ने अडियो सार्वजनिक गरेपछि आकस्मिक रुपमा न्यायपरिषदको बैठक बोलाइएको छ । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउसो साढे १ बजे बैठक बोलाइएको हो ।
मंगलबार न्यूज २४ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक गरेको थियो ।
न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार बैठक बोलाएका हुन् ।
न्यायपरिषद् बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।
समाचारको अरिजनल लिँकःवकिलद्वय पोख्रेल र कोइरालाकाे खतरनाक डिल, २ करोड हात परे इच्छाराजलाई रिहा ! (भिडियो) « News24 : Premium News Channel (news24nepal.tv)
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…