किशोरीलाई सामुहिक बलात्कार गरी तुहाए गर्भ, डाक्टरसहित तीन जना फरार
नेपालको अपराध संहिता अनुसार नाबालिग किशोरीसित सहमतिमा यौन सम्पर्क गरे पनि बलात्कारको मुद्दा लाग्ने उल्लेख छ ।

२०७९ जेठ ३० सोमबार, बिहान ८:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित एकजना बलात्कार पीडित किशोरीको गर्भ तुहाएको आरोप लागेका डाक्टर र सामूहिक बलात्कार गर्ने अभियुक्त दुई जना फरार भएका छन् ।
किशोरीलाई घरबाट राती बलपूर्वक ल्याएर चिकित्सकको सहयोगमा गर्भ तुहाएको पीडित परिवारले आरोप लगाएको छ ।
आरोपी परिवारका अनुसार ९ महिना पूर्वदेखि १६ वर्षीया किशोरीलाई बलात्कार गरिदै आएको बताइएको छ ।बलात्कार गरेको आरोप लागेको बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ का अन्दाजी २५ वर्षीय भोला भन्ने दीपक साह र श्यामसुन्दर साह रहेका छन् ।
सोही गाउँपालिका वडा नम्बर ५ प्रस्टोकामा पीडित किशोरीको घर रहेको छ । दीपक साहले ९ महिना देखि यौन शोषण गर्दै आएको हुँदा पीडित किशोरी ५ महिनाको गर्भवती भएको बताइएको छ ।
आफू गर्भवती भएको जानकारी पीडित किशोरीले दीपकलाई गराएकी थिइन् । गर्भवती भएको घटना थाहा पाएपछि दीपकले मन मिल्ने साथी श्यामसुन्दर साह र सोनी देवीको सहयोगमा शनिवार राती कलैया स्थिते राजलक्ष्मी अस्पतालमा गर्भपतन गराएका थिए ।
राती अचेत बनाएर गर्भपतन गराएपछि होशमा आएर घर फर्किएकी ती किशोरीको रगत बन्द नभएपछि आफूसँग भएको घटनाबारे अभिभावकलाई बताएकी पीडितकी आमाले जनाइन् ।
घटनाको यकिन विवरण सार्वजनिक भइ सकेको छैन् ।तर दीपक साहले किशोरीलाई अनेक प्रलोभन र डरधम्की देखाउँदै पटक– पटक बलात्कार गर्दै आएका थिए ।किशोरीले डरकै कारण घटना लुकाएको बताइएको छ ।
जेठ २९ गते पीडित किशोरीका अभिभावकले मुख्य आरोपी दीपक, उनका साथी श्यामसुन्दर साह र सहयोगी सोनीमाथि किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय बारामा दिएका छन् ।
जाहेरी लगतै अभियुक्त तीनै जना फरार रहेको प्रहरीले जनाएको छ । फरार सबै जनाको खोजतलास भईरहेको प्रहरीले जनाएको छ । पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।
बलात्कार पहिले भएको भए पनि आरोपित युवकले ज्यान मार्ने धाकधम्की दिएर तर्साएका कारण पीडित किशोरीले आफूसँग गरिएको कु–कर्मबारे कसैलाई पनि जानकारी नदिएको पीडित किशोरीकी आमाले बताइन् ।
पीडित किशोरीसित प्रहरीले प्रारम्भिक वयान लिएको बताइएको छ ।पीडितको वयान अनुसार नै प्रहरीले अनुसन्धान र खोजी कार्यलाई तीब्रता दिएकोछ ।
श्यामसुन्दर साह गर्भपतनमा मात्र संलग्न रहेको बताइए पनि पीडित किशोरीका परिवारजनले दुवै मिलेर नै सामूहिक बलात्कार गरेको आरोप लगाएका छन् ।
गर्भपतनबारे जानकारी भएको र घटनाबारे अझै विस्तृत रुपमा बुझने काम भईरहेको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेश थापाले जनाए ।
रजस्वला रोकिएपछि पीडित किशोरीले युवकलाई जानकारी गराएको बताइएको छ ।अस्पतालका डा।ओमप्रकाश महतो पनि फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको अपराध संहिता अनुसार नाबालिग किशोरीसित सहमतिमा यौन सम्पर्क गरे पनि बलात्कारको मुद्दा लाग्ने उल्लेख छ ।
पीडित परिवारले किटानी जाहेरी दिएपछि बलात्कारदेखि गर्भपतन गराउने घटनामा संलग्न सबैलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने स्थानीय बासिन्दाहरुले माग गरेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…