कमला नगरपालिकासहित धनुषाका यी ८ पालिका बाढीको उच्च जोखिममा
उनका अनुसार बाढीजन्य विपद्को दृष्टिले धनुषाको चार पालिका मध्यम जोखिममा र छ पालिका न्यून जोखिममा छन् ।

२०७९ जेठ २८ शनिबार, दिउँसो ४:५६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषा जिल्लाको कमला नगरपालिकासहित जिल्लााके ८ वटा स्थानीय तह बाढीको उच्च जोखिममा रहेको छ ।
प्रत्येक बर्ष अबिरल बर्षापछि आउने बाढीको कहरले धनुषा जिल्लाको कैयौँ स्थानीय तहले बाढीको उच्च जोखिम भोग्नु पर्दै आएको छ ।
बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये ८ वटा पालिका उच्च जोखिम छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन् ।
धनुषाको कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहका विभिन्न वडाले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएका छन् ।
उनका अनुसार बाढीजन्य विपद्को दृष्टिले धनुषाको चार पालिका मध्यम जोखिममा र छ पालिका न्यून जोखिममा छन् ।
जिल्लाको जनकपुरधाम उपमहानगरापालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपद्को दृष्टिले मध्यम जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले जनाएको छ ।
यस्तै जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, हंसपुर गाउँपालिका न्यून जोखिममा रहेको छ ।
कमला खोला, जमुना खोला, औरही खोला, बहरी खोला, बसही खोला र जलाद खोलामा आउने बाढीका कारण बर्सेनि ठूलो धनजनको क्षति पु¥याउँदै आएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
अघिल्लो वर्ष विपद्का कारण धनुषामा चार जनाको मृत्यु भएको भएको थियो भने करिब रु डेढ करोड मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
विपद्मा परेर मृत्यु भएका चारै जनाको परिवारलाई रु एक लाखको दरले राहत वितरण गरिसकेको धनुषाका सहायक प्रजिअ भण्डारीले बताए ।
यस्तै अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २२१ घर परिवारलाई दुई बण्डलका दरले जस्तापाता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…