तीन दिनसम्म बोर्डर बन्द हुने, ३० गते गाडीहरु पनि बन्द रहने
त्यस्तै आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको छ ।

२०७९ बैशाख २२ बिहीबार, राति ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् ।
त्यस्तै प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहीबार पत्र पठाएको हो ।
आयोगका अनुसार अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ ।
सवारी साधन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको मापदण्ड बनेको आयोगले जनाएको छ । तर कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाटै अनुमति लिनुपर्नेछ ।
सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्ने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने र अत्यावश्यक सवारी साधन भने चल्न सक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले विगतमा जस्तै मतदानका दिन यो पटक पनि यस्तो ब्यवस्था गर्न लागेको बताए ।
‘एम्बुलेन्स दमकल चल्छन्, दुध, तरकारीका गाडी चल्छन्, पत्रकारहरुले अनुमति लिएर हिँड्न पाइन्छ’, प्रवक्ता पौडेलले भने ।
त्यस्तै, आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको छ ।
वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएर भनेको प्रवक्ता शर्माले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…