जनकपुरमा सामुहिक राजीनामा ठोक्दै काँग्रेसीहरु
उनले पार्टीका कार्यकर्ताहरूको भावना बुझेर स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेको जनाए ।

२०७९ बैशाख ९ शुक्रबार, दिउँसो १२:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा काँग्रेसीहरुले सामुहिक राजीनामा दिने तयारी गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको लागि काँग्रेसबाट उम्मेदवार सिफारिस नभएपछि काँग्रेसी नेताहरुले सामुहिक राजीनामा दिन लागेको हो ।
शुक्रबार (आज) दिउँसो २ बजे काँग्रेसबाट मेयरका प्रत्यासी उम्मेदवार एवम् काँग्रेसका नेता मनोज कुमार साहले आफ्नौ नीजि निवासमा पत्रकार सम्मेलन गरी दिउँसो २ बजे औपचारिक रुपमा राजिनामा गर्ने भएको छ ।
सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपछि काँग्रेसीहरुले पार्टीमा विद्रोह सुरु गर्दै राजीनामा ठोक्न लागेका हुन् ।
असन्तुष्ट बनेका जनकपुरधाम उपमहानगरपालिका कांग्रेस नगरसमिति सभापति समेत रहेका नेता साह लगायतका नेता–कार्यकर्ताले पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा घोषणा गर्ने तयारीमा लागेका छन् ।
दिउँसो २ बजे साहको नीजि निवासमै बोलाइएको पत्रकार सम्मेलनमा साहसहित उनका सहयोगीहरु समेत सामुहिक रुपमै राजीनामा ठोक्ने निकट श्रोतले जनाएको छ ।
साहले आफू सहित जनकपुरधाम वडा नम्बर १५ का वडा सभापति र सयभन्दा बढी क्रियाशील सदस्यहरूले राजीनामा गरेर पार्टी परित्यागको घोषणा गर्ने जानकारी दिए।
उनले भने, ‘दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर हामी कांग्रेसको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामाको घोषणा गर्दैछौं। राजीनामाको घोषणा गरेर मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी समेत दिन्छु।’
उनले पार्टीका कार्यकर्ताहरूको भावना बुझेर स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेको जनाए ।
साहले भने, “जनकपुरको सबै वडाका साथीहरूको भावना र आवाज बुझ्दा कांग्रेसले अरू पार्टीमा मत नहाल्ने अवस्था रहेको बुझेर कांग्रेसको मतलाई एकढिक्का राख्न पनि स्वतन्त्र उम्मेदवारी दिन जरूरी ठानेको छु।’
उनले स्वतन्त्र भएर लड्न साथीहरूले नै दिएको सल्लाह सुझाव अनुसार नेपाली कांग्रेसको रक्षाका लागि राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिने निर्क्यौलमा पुगेको जनाए ।
मेयर जसपालाई दिने निर्णय सच्याउन साहले यसअघि २४ घण्टे अल्टिमेटम दिएका थिए। निर्णय सच्याउन शुक्रबार बिहान ११ बजेसम्म दिएको अल्टिमेटम सकिएपछि उनले पार्टीबाट राजीनामा गर्ने निर्णयमा पुगेको साहले जनाए ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पनि साह जनकपुरधामको मेयरमा चुनाव लडेर तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साहसँग पराजित भएका थिए।
यसपाली पनि कार्यकालमा सधै विवादमै रहँदै आएको लालकिशोर साहलाई टिकट सिफारिस भएपछि काँग्रेसका नेताहरु आक्रोसित हुँदै सामुहिक रुपमै पार्टी छाडने निर्णय गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…