मेडिकलको खुल्लामा नाम निकालेकाहरुलाई मधेशी कोटामा भर्ना, आरक्षणको ७ सिटमा अन्यलाई भर्ना
खुल्ला र आरक्षण गरेर जुन सँख्यामा यी समूदायहरुको उपस्थिति बढाउन सक्थ्यो त्यो हुन दिन नचाहेको उल्लेख गरेका छन् ।

२०७८ चैत ३० बुधबार, बिहान ९:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चिकित्सा शिक्षा आयोगले खुल्ला उम्मेदवारमा नाम निकालेका केही विद्यार्थीहरुलाई मधेशी कोटामा हालेर कोटा खाएको आरोप लगाइएको छ ।
मेडिकल प्रवेश परीक्षामा नेपालभरिमै उत्कृष्ट गरी एक नम्बरमा नाम निकाल्न सफल भएका जनकपुरका आशिक झालाई समेत मधेशी कोटामा भर्ना गरिदिएपछि मधेशी कोटा खाएको आरोप लगाइएको छ ।
आशिक झा खुल्ला र मधेशी दुवैमा चिन्हित गरी एक नम्बरमा नाम निकाल्न सफल भए । उनी खुल्ला र मधेशी दुवैबाट सँयुक्त रुपमा पहिलो नम्बरमै नाम निकाल्न सफल भएपनि एडमिसन गर्दा उनलाई मधेशी कोटामा हालेर मधेशी कोटाको सिट खाएको आरोप जनमत चिकित्सा सँघका उपाध्यक्ष डा. विनय पँजीयारले लगाएका छन् ।

“वर्षो संघर्ष गरेर ,धेरै नै यातना सहेर स्थापित गरिएको आरक्षणको मर्म यहि हो त ? १ नम्बरमा नाम निकाल्न सफल भएका आशिक झालाइ मधेशी कोटामा भर्ना गर्न लगाएर आखिर फेरि पनि षडयन्त्रपूर्वक पछाडी पारिएका समूदायको उपस्थिति न्यून पार्न खोजिएको छ।”– उनले भनेका छन् ।
उनले खुल्लामा नाम निकाल्न सफल भएका उम्मेदवार विद्यार्थीहरुलाई खुल्लामै नामाँकन गरी मधेशी कोटामा अन्य उम्मेदवारलाई भर्ना गर्नुपर्नेमा त्यस्तो नगरी मधेशी कोटामा जबरदस्ती हालेर मधेशीहरुको कोटा खाएको आरोप लगाएका छन् ।
उनले भने, –“आशिक झा खुल्लाबाट पनि एक नम्बरमा नाम निकालेका छन् । उनलाई खुल्लामै नामाँकन गर्नुपर्छ । खुल्लामा नाम निकालेर पनि मधेशी कोटामा हालेपछि एक जना मधेशी कोटाको विद्यार्थीको सिट त खायो नी । तर, उनलाई खुल्लामा भर्ना गरेपछि एक जना मधेशी कोटाबाट थपिन्छ । यसरी नै ७ जना मधेशी विद्यार्थीहरुल खुल्लाबाट समेत नाम निकालेपनि उनीहरुलाई मधेशी कोटामा भर्ना गरी ७ जना मधेशी विद्यार्थी भर्नाको मेडिकल कोटा खाएको प्रष्ट छ ।”
चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुले नियतवंश मधेशी कोटा खाएको आरोप डा. विनय पँजीयारले लगाएका छन् । उनले आयोगका पदाधिकारीहरु सँकुचित मानसिकताबाट प्रेरित भएर निर्णय लाद्न खोजे देशहितमा नहुने चेतावनी पनि दिएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्–“ ज–जसले कोटा बाट पढेका चिकित्सक अप टु मार्क हुन सक्दैनन भन्नेहरूले पनि बुझ्नसक्नुपर्छ मेरिटोक्रेसीलाई आरक्षणले कुनै हिसावले पनि असर गर्दैन। यो गलत परम्परा हो। यो रोकिनुपर्छ। नियम लागू गर्ने तहमा बसेका मान्छेले मन ठूलो राख्नु एक्दम जरूरी छ। सन्कुचित मानसिकताबाट प्रेरित भएर निर्णय लाद्न खोज्दा परिणाम देशको हितमा कदापी हुन सक्दैन।”
विवधतालाइ राज्यको हरेक निकायमा स्थापित गर्ने उदेश्यले आएको आरक्षणलाइ रास्ट्रको हितमा सदुपयोग गर्नुपर्ने बताउँदै उनले यसले खुल्ला र आरक्षण गरेर जुन सँख्यामा यी समूदायहरुको उपस्थिति बढाउन सक्थ्यो त्यो हुन दिन नचाहेको उल्लेख गरेका छन् ।
“राज्यले जुन आरक्षण सम्बन्धीको लक्ष्य राखेको छ । त्यो सयौ वर्षमा पनि पूरा हुन सक्दैन र निरन्तर देशमा येहि कुरोको लागि माग र सँघर्ष भइ राख्छ।
बेलामै सचेत हौं ।”– उनले लेखेका छन् ।
यता, यही सन्दर्भमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…