कमला नगरपालिकाको मँगराहा स्कूलमा पुनः तालाबन्दी
उनले विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउन समस्या भएको बताए ।

२०७८ चैत २२ मंगलबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित एक समुदायिक विद्यालयमा केही महिनाको अन्तरालमा तेस्रो पटक तालाबन्दी गरिएको छ ।
कमला नगरपालिका वडा नम्बर १ मँगराहास्थित जनता माध्यमिक विद्यालयमा शिक्षकहरुले तालाबन्दी गरेको हो । उनीहरुले अनिश्चितकालको लागि तालाबन्दी गरिदिएको छ ।
विगत १० महिनादेखि नै तलब भत्ता नपाएको भन्दै विद्यालयका शिक्षकहरुले विद्यालयको मुलगेटमा तालाबन्दी गरी विरोध जनाएका छन् ।
विद्यार्थीहरुको परीक्षा नजिकिदै गर्दा मँगराहा स्कूलमा तालाबन्दी भएपछि त्यहाँका विद्यार्थी, शिक्षक सहित आम नागरिकहरु स्थानीय जनप्रतिनीधिप्रति आक्रोसित बनेका छन् ।
विद्यालयमा कार्यरत १६ जना शिक्षक तथा कर्मचारीहरुले विगत १० महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी गरेपछि अभिभावकहरुले समेत स्थानीय जनप्रतिनीधि र कर्मचारीलाई दोष दिएको छ ।
अघिल्लो साउन महिनादेखि नै आफूहरुले तलब नपाएको सोही विद्यालयका शिक्षक अशोक कुमार मण्डलले बताए ।
तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष राजकुमार यादव सहित नगरपालिकाको शिक्षा समितिले समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी गरेको बताईएको छ ।
मण्डलले अनुदानको कोटामा निजी स्रोतका शिक्षकलाई राख्ने निर्णयसमेत तत्कालिन विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको आरोप लगाए ।
उनले विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउन समस्या भएको बताए ।
यता, विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार पासवानले आर्थिक स्रोत नभएकाले उनीहरुलाई तलब दिन नसकिएको बताए ।
शिक्षक तथा कर्मचारीको तलबका विषयमा नगरपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएको गुनासो गरे ।
शिक्षकहरुले नै विद्यालयमा तालाबन्दी गरेपछि विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ भने केही दिनमै सुरु हुने परीक्षा समेत प्रभावित हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…