जनकनन्दिनीमा आफन्त भर्ना गर्न वडाध्यक्ष गोईतको फर्जी काम, शिक्षक भर्ना प्रक्रिया रोक्का
उनले आफू सुनेको मात्र बताउँदै छानबिन प्रक्रिया अगाडी बढाउन लगाउने प्रतिक्रिया दिए ।

२०७८ चैत १४ सोमबार, बिहान ७:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पटक–पटक विवादमा तानिदैँ आएका धनुषाको जनकनन्दिनी गाउँपालिकाका एक वडाध्यक्षले गाउँपालिकालाई गैर–कानुनी रुपमा ओभरटेक गरेपछि भर्ना प्रक्रिया नै रोक्का भएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष धर्मेन्द्र गोईतले आफ्नो आफन्त भर्ना गर्नको लागि गुपचुप रुपमा विज्ञापन नै नगरी खुलाएको शिक्षक भर्ना प्रक्रिया रोक्का गरिएको हो ।
गाउँपालिकाको ईनरबा (कमला) स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा रिक्त रहेको दरबन्दीमा विज्ञापन गरेको दाबी गर्दै आएका वडाध्यक्ष गोईतले बिना कानुनी प्रक्रियाकै मात्र सूचना टाँस गरी आफन्त भर्ना गर्न खोज्दा मुद्दा समेत परेको हो ।
आफ्नो एक आफन्तलाई नै भर्ना गर्ने उदेश्यले गाउँपालिकालाई समेत कानुनी जानकारी नदिई आफूखुसी रिक्त रहेको शिक्षक दरबन्दीमा विज्ञापन गर्नुपर्नेमा सूचना विज्ञापन नै नगरी शिक्षक भर्नाको लागि प्रक्रिया थालेपछि प्रक्रिया रोक्का गरिएको हो ।
खुल्लाबाट शिक्षक भर्ना गर्नको लागि पत्रपत्रिकामा सूचना विज्ञापन गर्नुपर्नेमा विज्ञापन नै नगरी वडाध्यक्ष गोईतले गुपचुप रुपमा शिक्षक भर्ना प्रक्रिया सुरु गरेपछि भर्ना रोक्नको लागि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा मुद्दा परेपछि सो प्रक्रिया रोकिएको हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख युक्त प्रसाद शर्माले कार्यालयबाट रिक्त रहेको दरबन्दीमा शिक्षक भर्नाको लागि सूचना टाँस मात्र गरेको पाइएको बताउँदै यसको लागि छानबिन अगाडी बढाईएको बताए ।
खुल्ला तवरबाट विद्यालयमा शिक्षक भर्नाको लागि पत्रपत्रिकामा विज्ञापन गर्नुपर्ने प्रावधान रहेकोमा सो सूचना विज्ञापन नदेखिएको बताउँदै शर्माले वडाध्यक्षमाथि उजुरी समेत परेको बताए । उनले सो प्रक्रिया रोक्काको लागि उजुरी परेको तथा छानबिन सुरु गरिएको बताए ।
यता, जनकनन्दिनी गाउँपालिकाका शिक्षा सँयोजक राजेन्द्र प्रसाद साहले गाउँपालिकामा समेत शिक्षक भर्ना सम्बन्धी उजुरी गरिएको भन्दै सो भर्ना प्रक्रिया तत्कालको लागि रोक्का गरिएको बताए ।
वडाध्यक्षसहित विद्यालयलाई विद्यालय व्यवस्थापन समितिको निर्णय, विज्ञापन गरिएको सम्पूर्ण प्रक्रिया, व्यवस्थाको बारेमा पत्राचार गर्दै जानकारी लिने बताए । उनले आजै पत्राचार गरी सो प्रक्रियाहरुको फाईल माग्ने बताउँदै पुष्टि नभएसम्म भर्ना प्रक्रिया रोक्का रहने बताए ।
सो सन्दर्भमा गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेखले समेत शिक्षक भर्नाको लागि खुलाएको विज्ञापनको बारेमा अनभिज्ञता प्रकट गरे । उनले आफू सुनेको मात्र बताउँदै छानबिन प्रक्रिया अगाडी बढाउन लगाउने प्रतिक्रिया दिए ।
वडा नम्बर १ का वडाध्यक्ष गोईतले विगतदेखि नै तानाशाही प्रवृति देखाएको आरोप समेत स्थानीयहरुले लगाउँदै आएको छ । उनले नियम कानुनलाई धज्जिया उडाउँदै विभिन्न समयमा कार्यहरु गरेको आरोप समेत लगाईएको छ ।
सो सन्दर्भमा वडाध्यक्ष गोईतले आफू विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य मात्र रहेको बताउँदै समितिको निर्णय मात्र गरेको बताए । उनले विज्ञापन प्रकाशित गरेको नगरेको सन्दर्भमा विद्यालयका प्रधानाध्यापकले मात्र भन्ने बताए ।
विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्यको हैसियतले समितिको निर्णयमा सहमति मात्र जनाएको उनले थपे । उनले आफूलाई बदनाम गर्ने मनसायले मात्र केही तत्वहरु सक्रिय भएको आरोप लगाए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…