होलीकै दिन जनकपुरमा दुई जनाको मृत्यू, परिवारजन शोकमा !
सोही क्रममा होलीकै दिन धनुषामै एक युवकको करेन्ट लागेर मृत्यू भएको छ ।

२०७८ चैत ५ शनिबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित होली पर्वकै दिन दुई व्यक्तिको मृत्यू हुँदा उत्साहको पर्व शोकमा बदलिएको छ ।
वृहत्तर जनकपुर क्षेत्रमा आज परेको होलीको दिन पोखरीमा डुबेर एक बालकको मृत्यू भएको छ । जानकी मन्दिरदेखि उत्तरपट्टि रहेको अरगजा पोखरीमा डुबेर बालकको मृत्यू भएको हो ।
अरगजा पोखरीमा नुहाउन उत्रेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ लक्ष्मण अखाडा बस्ने लक्ष्मण दासका अन्दाजी १३ बर्षिय छोरा कर्ण कुमार दासका डुबेर मृत्यू भएको हो ।
डुबेर तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि दासलाई उपचारको लागि करिब १०० मिटरकै दुरीमा रहेको प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यू भएको स्थानीयहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
होली खेल्दाखेल्दै पोखरीमा नुहाउन उत्रेका दास पोखरीमा डुबेको स्थानीयहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उनको शव प्रादेशिक अस्पतालमै राखिएको जनाइएको छ ।
होली पर्वकै दिन दासको डुबेर मृत्यू भएपछि सिँगो परिवार शोकमा रहेको छ । छिमेकीहरु होलीको हर्षोल्लास पर्व मनाइरहँदा दासको परिवार शोकमा डुबेको छ ।
सोही क्रममा होलीकै दिन धनुषामै एक युवकको करेन्ट लागेर मृत्यू भएको छ । धनषाको मुखियापटी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ वैरियामा करेन्ट लागेर २६ वर्षीय ललित यादवको मृत्यू भएको प्रहरीले जनाएको छ ।
भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…