सशस्त्र प्रहरी जवान सहनीले नक्कली कार्ड लिएर भन्सारबाट उठाए कमिशन, ६ जनाको कमिशन एक्लै खाएपछि...
भोजी सहनी र मलंगवा भन्सार कार्यालयका लेखापाल धर्मपत राउतबीच भएको सम्वादको रेकर्ड पनि सार्वजनिक भएको छ।

२०७८ फागुन ३० सोमबार, राति ८:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी जवान भोजी सहनी मलंगवा भन्सारका लेखापाल धर्मपत राउतसंग मिलेर ६ जनाले पाउनुपर्ने कमिसन खाएको रहस्य खुलेको छ।
विभिन्न समयमा भन्सारमा बुझाइएको सामानको कमिसन दिन मलंगवा भन्सार कार्यालयले आनाकानी गरेपछि खोज्दै जाँदा लेखापाल र सप्रज सहनीको मिलोमतोमा रकम पहिले नै निकालिएको रहस्योदघाटन भएको हो।
२०७६ चैत १४ मा मुद्दा नम्बर ४११ मामलंगवा भन्सारमा बुझाइएको सामानको जनही ७ हजार १२ रुपैयाँ कमिसन ४ जनालाई आउनु पर्ने थियो तर कमिसन पाउनुपर्ने चारै जनाको नक्कली परिचय पत्र र सशस्त्रप्रहरी बल मलंगवाको लेटरप्याड प्रयोग गरी भोजी सहनीले २०७८ माघ १० मामलंगवा भन्सार कार्यालयबाट २८ हजार ४८ रुपैयाँ बुझेर लगेका छन्।
यसै, गरी २०७६ माघ २० मामुद्दानम्बर ६९६ मा सशस्त्रप्रहरीले मलंगवा भन्सारमा सामान बुझाएको थियो। मलंगवा भन्सारमा सुबास सिंह र राम प्रवेश ठाकुरले २२ हजार ७३५ को दरले जनही कमिसन पाउनु पर्ने थियो तर सप्रज सहनीले सिंह र ठाकुरको नक्कली आइडी बनाएर कार्यालयको लेटर प्याड प्रयोग गरी ४५ हजार ४७० रुपैया बुझेर लगेका छन्।
सशस्त्र प्रहरी बल १० नम्बर गण सर्लाहीको लेटरप्याडमा सशस्त्र प्रहरीका एसपि भरत खनियाको हस्ताक्षर समेत किर्ते रहेको छ।
कार्यालयको नक्कली लेटरप्याड, कार्यालय प्रमुखको कीर्ते हस्ताक्षर तथा प्रहरी कर्मचारीहरुको नक्कली आइडीकार्ड बनाएर मलंगवा भन्सारमा पेस गरी मलंगवा भन्सारबाट रकम बुझेको देखिएपछि भोजी सहनीमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ।
भोजी सहनी र मलंगवा भन्सार कार्यालयका लेखापाल धर्मपत राउतबीच भएको सम्वादको रेकर्ड पनि सार्वजनिक भएको छ।
दुवै जनाबीच भएको मोबाइल संवादमा सहनीले राउतलाई आफूलाई बचाउने उपायको लागि आग्रह गरिरहेको सुन्न सकिन्छ।
संवादमा लेखापाल राउत र सहनीको मिलोमतोमा नै रकम निकालिएको बुझ्न सकिन्छ। मलंगवा भन्सार कार्यालयका लेखापाल राउतले सशस्त्रप्रहरी बलको कार्यालयबाट प्रक्रिया पूरा गरी कागजपत्र आएको आधारमा नियमानुसार दिनुपर्ने कमिसन दिएको बताएका छन्।
कार्यालयको लेटरप्याडमा कार्यालय प्रमुखको हस्ताक्षर, कमिसन पाउनुपर्ने कर्मचारीको नाम र आइडी समेतको प्रमाणसहित आउँदा आफूले रकम उपलब्ध गराएको बताउने लेखापाल राउतले सशस्त्र प्रहरीका सबै कर्मचारीलाई आफूले व्यक्तिगत रुपमा नचिनेको बताएका छन्।
सशस्त्र प्रहरी बल मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरले सशस्त्र प्रहरी जवान भोजी सहनीलाई सर्लाहीबाट छिन्नमस्ता गणमा तानेर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। नागरिक दैनिकको अनलाइनमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…