मधेशका यी मन्त्री राँची गएपछि प्रदेशसभा बैठक १२ दिनको लागि स्थगित
प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो ।
२०७८ फागुन १० मंगलबार, बिहान ११:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका एक मन्त्री भारतको राँची गएपछि आज (मँगलबार) बस्ने भनेको प्रदेश सभाको बैठक १२ दिनको लागि स्थगित भएको छ ।
मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको हो ।
प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो ।
‘आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने हुन्छ । तर, म पूर्वनिर्धारित कार्यक्रमअनुसार पारिवारिक भ्रमणका लागि भारतको राँची आएको छु,’ साहले भने, ‘प्रहरी भर्नाका बारेमा प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर तथा म स्वयं बाहिर भएकाले बैठक सहमतिको आधारमा २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।’
उनका अनुसार १८ फागुनका स्वदेश फर्केपछि संकल्प प्रस्तावका बारेमा छलफलको प्रक्रिया अघि बढाइनेछ । सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्ताव बारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो ।
गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो ।
तर, सर्वोच्च अदालतमा परेको मुद्दा र मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि धकेलिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपक कर्ण
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…