हँसपुर नगरपालिकामा विकास निर्माण तीव्र, कमला नगरपालिका चौपट्ट
नगर प्रमुख गोईतको अडान र अधिकृत ठाकुरको अडानले कमला नगरपालिका पूर्ण रुपमा ठप्प भएको छ ।

२०७८ माघ १६ आइतबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा विकास निर्माणको कार्यहरुलाई तीव्रता दिइएको छ ।
नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीबीचको आन्तरिक द्धन्द्ध निराकरण भएपछि अहिले नगरमा विकास निर्माणको कार्यलाई तीव्रता दिइएको छ ।
प्रथम चौमासिकमा कार्यहरु समेत गर्न नसकेको हँसपुर नगरपालिकामा दोस्रो चौमासिकको मध्यमा कामहरु सुरुवात गरिएको छ । जनप्रतिनीधि र कर्मचारीबीचको आपसी सदभावपछि विकास निर्माणको कार्यहरुलाई तिव्रता दिएको हो ।
जसमा भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणको कार्यहरुलाई तीब्रता दिएको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार, नगरको विभिन्न वडामा हुने भौतिक निर्माणको कार्यको लागि कार्यादेश दिइ कामको अनुगमन समेत तीव्र पारिको छ । आर्थिक वर्ष समाप्त हुनुभन्दा अघि नै योजना तहत सबै कार्य सम्पन्न हुने विश्वास उनले जनाए ।
यता, पूर्वी धनुषाकै कमला नगरपालिका विगत एक महिनादेखि ठप्प छ । कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईत र प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरबीचको आपसी द्धन्द्धको कारण विगत एक महिनादेखि कमला नगरपालिका पूर्ण रुपमा ठप्प भएको छ ।
नगरपालिकाका ४ वडाको वडाध्यक्ष र उपमेयर एक तर्फ तथा नगर प्रमुख गोईत एक तर्फ भई जनप्रतिनीधिबीचको द्धन्द्धमा कमला नगरपालिकावासी पिसिलिएको छ ।
नगर प्रमुख गोईतको अडान र अधिकृत ठाकुरको अडानले कमला नगरपालिका पूर्ण रुपमा ठप्प भएको छ । यद्यपी, यसको लागि कुनै पनि पक्षले ठोस पहल गर्न नसक्दा विगत एक महिनादेखि लागेको ताला अझै यथावत रहेको छ ।
विगत दुई वर्ष विकास निर्माणको लागि ट्रयाकमा आएको कमला नगरपालिका पुनः ५ बर्षपछि धकेलिएको गुनासो स्थानीयहरुले गर्न थालेको छ । कमला नगरपालिकामा जनप्रतिनीधि पनि हो भनेर आस नगरवासीले छोडिसकेको अवस्था छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…