डा. सिके राउत र किसानलाई मार्ने धम्की दिएकी मन्त्री यादव विरुद्ध जाहेरी !
मन्त्री यादवलाई पदमुक्त गर्दै कानुनबमोजिम कारबाही गर्न कर्णले अनुरोध गरेका छन् ।

२०७८ माघ १३ बिहीबार, बेलुकी ६:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र किसान आन्दोलनमा सरिक भएका किसानहरुलाई समेत अप्रत्यक्ष मार्ने धम्की दिएकी मन्त्री यादव विरुद्ध उजुरी परेको छ ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध विहिबार उजुरी परेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. राउतलाई सार्वजनिक ठाउँमा ज्यान मार्ने धम्की दिएकी मन्त्री यादवविरुद्ध हुलाकमार्फत रौतहट प्रहरीलाई जाहेरी पठाइएको हो ।
पाँच दलीय सत्ता गठबन्धनमा सामेल नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रञ्जित कर्णले मन्त्री यादवलाई कारबाही गर्नुपर्ने माग गर्दै हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेपछि हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएको हो । उनले भने, –“सप्तरीमा जाहेरी लिन मानेनन्, पछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको हुँ ।’
जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरीले घटना रौतहटको रहेकाले सप्तरीमा दर्ता हुन नसक्ने भनेपछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको कर्णले सँचारकर्मीहरुसँग भने ।
‘मन्त्रीको अभिव्यक्तिले दुई समुदायबीच द्वन्द सृजना भई सोबाट जातीय, धार्मिक, क्षेत्रीय सम्प्रदायीक दंगा फैली दुई समुदायबीच राष्ट्रिय एकतासमेत असर पर्ने भएकाले अन्यायी मन्त्रीको अभिव्यक्ति मुलुकी अपराध संहिता २०७४ को दफा ४९(४) विरुद्ध रहेकोले ऐ. संहिताको दफा ५(ग) बमोजिम हदैसम्मको कैद र जरिमानासमेत गरी पाउँ”–कर्णले पठाएको जाहेरीमा उल्लेख छ ।
कर्णले मन्त्री यादवलाई पदमुक्त गर्न सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ज्ञापनपत्र पठाएका छन् ।
मन्त्री यादवलाई पदमुक्त गर्दै कानुनबमोजिम कारबाही गर्न कर्णले अनुरोध गरेका छन् ।
मन्त्री यादवको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।
उनको सो अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुनबमोजिम कारबाही गर्न ज्ञापन पत्रमार्फत अनुरोध गरिएको छ ।
मन्त्री यादवले माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।
मन्त्री यादवले भने आफू त्यस्तो केही पनि नभनेको भन्दै स्पष्टिकरण दिँदै आएकी हुन भने उनका समर्थकहरुले खुलेर उनको बचाउमा लागेका छन् । मन्त्री यादवले यसअिघ मिडियाहरुलाई समेत स्तरीयहिन मिडियाको सँज्ञा दिएकी थिइन् ।
उनले गत माघ ५ गते बलिदानी दिवसको अवसरमा कार्यक्रममा जाँदा किसानहरुले लखेटेपछि उनीहरुसँग रौतहट गौरको दोस्रो नरसंहार दोहरयाउने जस्ता अभिव्यक्ति दिएकी थिइन् ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…