जनकपुरः लुटेराहरुले गरे प्रहरीमाथि आक्रमण, असईको टाउकोमा एक दर्जन टाँका !
लुटपाट तथा आक्रमणमा संलग्न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको छ ।

२०७८ माघ ५ बुधबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको बटेश्वरमा सुरक्षाकर्मीमाथि नै आक्रमण भएको छ ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका स्थित रहेको प्रहरी चौकीमा गएराती लुटेराहरुले प्रहरी चौकी ईन्चार्जमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यहाँको प्रहरी चौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेराहरुको एक समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित “राम्रो चोक” भन्ने स्थानमा गएराती करिब २ बजेको समयमा लुटेरालाई नियन्त्रण लिएपछि उनीलाई आक्रमण भएको प्रहरीले जनाएको छ।
आक्रमणबाट असई पोखरेल सख्त घाइते भएका छन्। उनको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको टाउकोमा १२ वटा टाँका लागेको प्रहरीले जनाएको छ ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल लगायतका सामानहरु लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
लगतै पुगेको असई पोखरेल सहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेपछि असई पोखरेललाई आक्रमण भएको हो।
प्रहरीका अनुसार लुटिएका पासमान कमाएर बटेश्ववर गाउँपालिका २ भुचक्रपुरस्थित ससुराली जाँदै थिए।
महेन्द्रनगर बजारबाट अटोरिक्सामा बसेर पासवान ससुराली फर्किँदै गर्दा राम्रोचोकमा रोकेर सामान लुटपाट गरेपछि प्रहरीलाई खबर पुगेको थियो।
लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेललाई पछाडिबाट हेल्मेट, लाठीले टाउकोमा हानेको प्रहरीले जनाएको छ।
लुटपाट तथा आक्रमणमा संलग्न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको छ ।
जसमध्ये मुख्य आरोपित स्थानीय रामजीवन ठाकुरका साथबाट लागुऔषध नाइट्रोभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…