मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा पत्थरबाजी, फुट्यो घरको सीसा
ढुङ्गा चलाउने व्यक्ति र उसले चलाइरहेको मोटरसाइकलको सनाखत भएको डिएसपी खनालले जानकारी दिए ।

२०७८ माघ ४ मंगलबार, बेलुकी ५:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुङ्गामुढा भएको छ ।
मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को तेजारथ टोलस्थित घरमा ढुङ्गामुढा भएको हो ।
प्रदेशको राजधानी जनकपुर बनेपछि वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले निकालेको र्यालीबाट निस्केर एक युवकले ढुङ्गा प्रहार गरेपछि राउतको घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार नेपाली कांग्रेसको र्यालीबाट मोटरसाइकलमा सवार एक युवकले मुख्यमन्त्रीको घरमा दुईवटा ढुङ्गा चलाएका थिए ।
ढुङ्गा प्रहारबाट सामान्य क्षति मात्र भएको डिएसपी खनालले बताए । “र्यालीबाट निस्केर मोटरसाइकलमा सवार एक युवकले ढुङ्गा चलाएको बुझिएको छ, डिएसपी खनालले भने, “घरको दुई वटा सिसा मात्र फुटेका छन्, बाकी कुनैपनि प्रकारको क्षति भएको छैन ।”
ढुङ्गा चलाउने व्यक्ति र उसले चलाइरहेको मोटरसाइकलको सनाखत भएको डिएसपी खनालले जानकारी दिए । उसको खोजी कार्य भइरहेको उनले बताए ।
यता नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिका अध्यक्ष भोला कलवारले केही उच्छृंखल व्यक्तिले पार्टीलाई बदनाम गराउने उद्देश्यले यस्तो गरेको प्रतिक्रिया दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…