पत्रकार उमा सिँह हत्याको १३ बर्ष पूरा, जनकपुरका पत्रकारहरु बिर्से सहादत
उमा सिँहकी आमा सुशिला सिँह एकल जीवन बाच्न कठिनाई भरहेकोले भारतमा बस्दै आएका छन् ।

२०७८ पुस २७ मंगलबार, बिहान ८:०२ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरकी महिला पत्रकार उमा सिँहको हत्याको आज (मँगलबार) १३ वर्ष पुरा भएको छ ।
गत २०६५ साल पुस २७ गते जनकपुरधामको रजौल स्थित आफ्नै डेरामा रहेको समयमा उनको विभत्स हत्या भएको थियो ।
२०६५ पुस २७ गते राती करिब ७ः३० बजेको समयमा अहिलेको जनकपुरधाम उप महानगरपालिका वडा १४ स्थित गोविन्द कार्कीको घरमा डेरा लिई बसेकी उनलाई एक समूहले आक्रमण गरेको थियो ।
सिँहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी सख्त घाईते बनाएका थिए ।
आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाम १ मिल्स एरियास्थित केयर मेडिकलमा उपचारको लागी ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठमाडौ लगिरहेको अवस्थामा बाटोमै मृत्यु भएको थियो ।
सिँहलाई उनकै भाउजू ललिता सिँहले धनको लोभमा हत्या गराएको ठहर भईसकेको छ । यता, धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइ सकेको छ ।
सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेपछि न्यायाधीश थापाले यादवलाई घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
अदालतको ठहर २०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । ती दुवै जना अहिले जलेश्वर कारागारमा छन् ।
त्यसैगरी न्यायाधीश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेका थिए ।
सिंह हत्या हुनुभन्दा अगाडि करिब डेढ वर्ष अगाडि देखि जनकपुरको रेडियो टुडेमा रिपोर्टरबाट काम सुरु गरि समाचार बाचन गर्दै आएकी थिइन् ।
उमाको आमा सुशिला सिंहले केही जग्गा उमाकै नाउँमा गरिदिने र विहे गरिदिने भन्ने कुरा उठाउँदा उमाकी भाउजू ललिता सिंहले उमाको नाउँमा जग्गा नर्गनु भन्दै विरोध गरेकी थिईन् ।
ललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।
उमा सिँहकी आमा सुशिला सिँह एकल जीवन बाच्न कठिनाई भरहेकोले भारतमा बस्दै आएका छन् ।
उमा सिँहकी भाउजु जेल मुक्त भएपछि सुशिला सिँह करिब दूई बर्षदेखि नेपाल आएका छैन ।
ज्यान सुरक्षाको सुशिला सिँहले जिल्ला प्रहरीमा निवेदन दिएपनि हालसम्म त्यसको कुनै सुनवाइ छैन । सुशिला सिँहको अवस्था कठिन रहेको छ ।
यता, जनकपुरका पत्रपत्रिकाहरु र पत्रकारहरुले उमा सिँहको सहादतलाई बिर्सेको छ । सुरुमा केही बर्षसम्म उनको स्मृतिमा कार्यक्रम सहित सँचारमाध्यममा स्थान दिएपनि यसबर्ष जनकपुरको मिडियाहरुले उनको समाचार पनि बिर्सेका छन् ।
उमा सिँहको रगत बेचेर नाम कमाएका पत्रकारहरुले समेत उनको चर्चा बिर्सेको देखिएको छ । उमा सिँहकै नाम बेचेर सँचार उद्यमलाई अगाडी बढाएका पत्रकारहरु तथा मिडिया हाउसहरुले उनको नाम चर्चा बिर्सेका हुन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…