२ नम्बर प्रदेशको नाम र राजधानी पक्का
मिथिला–भोजपुरा नाम राख्नु पर्ने सत्तासाझेदार नेपाली कांग्रेसले मधेश प्रदेशमा समर्थन जनाउन चाहेको छैन् ।

२०७८ पुस १९ सोमबार, बिहान १०:१२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीको टुंगो लाग्ने पक्का भएको छ ।
प्रदेश राजधानीका लागि धेरै विवाद नरहेपनि नाममा दलहरुले राजनीति गर्न थालेपछि नामको अन्योल बढेको छ ।
सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा), प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र सत्तासाझेदार नेकपा माओवादी केन्द्र प्रदेशको नाम ‘मधेश प्रदेश’ मा सहमत भइसकेका छन् ।
ती दलहरु प्रदेशको राजधानी जनकपुरधाम रहनुपर्नेमा पनि एकमत छन् । तर संविधानले निर्दिष्ट गरेको दुई तिहाईको संख्या तीनदलको सहमतिबाट पनि पुग्दैन् । तीन दलगरी प्रदेश सभामा ६३ जना छन् ।
नाम र राजधानीको निर्णय गर्न प्रदेश सभाको दुई तिहाई अर्थात हालको संख्याको ७० जना सभासदको समर्थन चाहिन्छ । प्रदेश सरकारले राजधानी टुंग्याएर नाममा सहमतिको बैकल्पिक बिन्दु खोजी गरिरहेको छ ।
प्रदेश सरकार ‘मधेश प्रदेश’ को अडान छाडे पर्सा जिल्लाका कांग्रेसका सभासदहरुले प्रस्ताव गरेको ‘मध्य मधेश प्रदेश’ मा सहज रुपमा नै सहमति जुट्ने संकेत देखिएको छ । तर त्यसमा लोसपाले समर्थन जनाउने नजनाउने निश्चित भइसकेको छैन् ।
लोसपाको समर्थन बिना दुवै निर्णय हुन कठिन छ । यद्यपि लोसपाले दलगत रुपमा मधेश प्रदेश र जनकपुरधाम राजधानीको निर्णय गरिसकेको छ ।
प्रदेश २ को नामकरण र राजधानीको विषयमा सरकारलाई लोसपाले पूर्ण समर्थन जनाएको प्रमुख सचेतक परमेश्वर साहले जनाए । ‘नाम र राजधानीको सवालमा सरकारको प्रस्तावमा हाम्रो समर्थन छ’ उनले भने, तर प्रदेश सरकार आफ्नै प्रस्ताव पारित गराउन चासो देखाइरहेको छैन् ।
मिथिला–भोजपुरा नाम राख्नु पर्ने सत्तासाझेदार नेपाली कांग्रेसले मधेश प्रदेशमा समर्थन जनाउन चाहेको छैन् । हुनत त्यसका लागि सार्थक प्रयास पनि सरकारले नगरेको आरोप छ ।
सत्तासाझेदारलाई विश्वासमा लिन नसक्नु मुख्यमन्त्री लालबाबु राउतको कमजोरी भएको सभासदहरुले बताउन थालेका छन् । अर्का सत्तासाझेदार नेकपा एकीकृत समाजवादी (एस) लेपनि प्रदेशको नाम जानकी प्रस्ताव गरेको छ ।
एसको प्रस्तावलाई कट्टर विरोधी नेकपा एमालेले समेत समर्थन जनाएको छ । तर दुवै दलको गरी कुल २१ जना सभासद मात्र छन् । प्रदेश सभाले नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभामुखको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ ।
सो समितिले सहमतिका लागि प्रदेश सभामा रहेका सबै दलका नेताहरुसित छलफल थालेको छ । स्रोतहरुका अनुसार नाममा विवाद नगरी मधेश प्रदेश पारित नभए मध्य मधेशमा सहमति जुटाउन राजी भएका छन् ।
मिथिला–भोजपुरा र जानकी प्रदेशको पक्षमा रहेका सभासदहरु पनि जसपा र लोसपाले प्रस्ताव गरेको बाहेकको नाम ‘मध्य मधेश प्रदेश’ मा समर्थन गर्न सकारात्मक देखिएका छन् ।
प्रदेशको नाम मधेश प्रदेश नभए मध्य मधेश प्रदेश पारित हुने पक्का जस्तै छ । तर पहिले प्रदेशको राजधानी सम्बन्धी प्रस्तावलाई प्रदेश सभाले पारित गर्ने सहमति भइसकेको छ ।
आजको जनकपुर टुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…