राजर्षि जनक विश्वविद्यालयको पठनपाठन अनिश्चितकालको लागि बन्द
उनीहरूले पाठ्यक्रममै शैक्षिक भ्रमण गराउने उल्लेख रहेको र सोबापत नामांकन गराउने समयमै आफूसँग क्याम्पसले पैसा लिइसके पनि भ्रमणमा जाने बेलामा पैसा उपलब्ध नगराएको बिएससी सिएसआईटी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी राकेश यादवले बताए ।

२०७८ पुस १४ बुधबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको राजर्षि जनक विश्व विद्यालयको पठनपाठन अनिश्चितकालको लागि बन्दको सूचना गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ रामानन्दचोकस्थित रहेको सो क्याम्पसमा विद्यार्थीहरुले क्याम्पसका प्रमुखलाई थुनेपछि अनिश्चितकालको लागि पठनपाठन बन्द गरिएको हो ।
बिएससी सिएसआईटीको तेस्रो बर्षको पाँचौ समेष्टरको विद्यार्थीले शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलापका लागि विभिन्न किसिमका बन्द, आन्दोलन तथा तोडफोडका क्रियाकलाप गर्दै आइरहेकोले असहज परिस्थिति उत्पन्न भइ पठन पाठन बन्द गरिएको कार्यबाहक क्याम्पस प्रमुख विनोदकुमार कर्णले बताए ।
विद्यार्थीको गतिविधिबारे माथिल्लो निकायमा बारम्बार जानकारी गराउँदा पनि सुनुवाइ नभएकाले नियमित रूपमा क्याम्पस सञ्चालन गर्न असहज परिस्थिति सृजना हुँदा पुस १५ गते शुक्रबारदेखि समस्या समाधान नभएसम्म अनिश्चितकालका लागि क्याम्पसको सम्पूर्ण पठन पाठन स्थगित गरिएको कार्यबाहक क्याम्पस प्रमुख कर्णले जानकारी दिए ।
विद्यार्थीले शैक्षिक भ्रमणसहित सफ्टवेयर, नेटवर्क, डाटा सेन्टर, कम्युनिकेशनको सर्भर र प्रोग्रामिङका लागि क्याम्पससँग बजेट माग गरेका थिए ।
उनीहरूले पाठ्यक्रममै शैक्षिक भ्रमण गराउने उल्लेख रहेको र सोबापत नामांकन गराउने समयमै आफूसँग क्याम्पसले पैसा लिइसके पनि भ्रमणमा जाने बेलामा पैसा उपलब्ध नगराएको बिएससी सिएसआईटी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी राकेश यादवले बताए ।
क्याम्पस प्रमुख कर्णले विज्ञान तथा प्रविधि संकायका डिन प्रा. डा. श्याम किशोर महतोसँग सहयोग मागेका थिए । महतोले सोमबार मेगा बैंकमा रहेको खाताबाट ९० हजार रुपैयाँको चेक दिए पनि सो खाता बन्द रहेको पाएपछि विद्यार्थी थप आन्दोलित भएका छन् ।
विद्यार्थीहरुले माग बमोजिमको रकमको लागि बैँकमा जाँदा खाता बन्द पाएपछि आक्रोसित बनेका थिए । डिनलाई फोन गर्दा पनि कुनै प्रतिक्रिया नदिएपछि झन आक्रोसित बनेका विद्यार्थीहरुले आन्दोलन गर्न थालेपछि पठनपाठन बन्द गरिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…