सिरहामा तरकारी बेच्ने किसानलाई प्रहरीले भगायो
चक्काजामको प्रभाव राजमार्गमा पर्न नदिन स्थानीय प्रशासनले मँगलबार र बुधबार निषेधाज्ञा

२०७८ पुस १३ मंगलबार, बिहान ८:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित प्रहरीले बिहानै तरकारी बेच्ने किसानलाई कुटपिट गरेको आरोप लगाइएको छ ।
सिरहा प्रशासनले मँगलबार र बुधबार जारी गरेको निषेधाज्ञा पालना गराउनको लागि तरकारी बेच्ने किसानहरुलाई लखेटेको आरोप किसानहरुले लगाएका छन् ।
सोही क्रममा सिरहाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा मँगलबार बिहान प्रहरीले तरकारी बजारमा ज्यादती गरेको आरोप किसानहरुले लगाएका छन् । तरकारी बेच्न आएका व्यापारीमाथि प्रहरीले ज्यादती गरेका हुन् ।
जनमत पार्टीले गरेको चक्काजामको प्रभाव राजमार्गमा पर्न नदिन स्थानीय प्रशासनले मँगलबार र बुधबार निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको पालना गराउने नाममा प्रहरीले तरकारी बजार समेत लाग्न नदिएको र आफूहरुलाई गालीगलौज गर्दै लखेटेको व्यापारीको गुनासो छ ।
निषेधाज्ञा आदेशमा पुस १३ र १४ गते सिरहा–चोहर्वा सडक खण्ड र राजमार्ग क्षेत्रमा ५ सय मिटर आसपासमा हिडडुल, भेला, जुलुस जस्ता गतिविधिमा रोक लगाएको छ ।
यस्तो आदेश प्रशासनले जारी गरेपछि प्रहरीले कार्यान्वयण गराउने नाममा गोलबजारस्थित राजमार्ग क्षेत्रमा लाग्ने तरकारी बजार बन्द गराएपछि व्यापारीहरु समस्यामा परेका हुन् ।
औरही गाउँपालिकाले किसानमाथि दर्ता गारएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टीले आईतवार आमहड्ताल गरेका थिए ।
आमहड्ताल सफल पार्न सडकमा निस्केका कार्यकर्तामाथि प्रहरीले दमन गरेको र १४ कार्यकर्तालाई पक्राउ गरेको विरोधमा सोमवार समेत जिल्लाभर चक्काजामको कार्यक्रम यथावत राख्यो ।
आईतवार र सोमवारको आन्दोलन पश्चातपनि प्रशासनले माग पुरा गर्न चासो नदेखाएको र दमनको नीति लिएको भन्दै जनमत पार्टीले आज र भोली समेत चक्काजामको घोषणा गरेको छ । तर प्रशासनले चक्काजाम असफल पार्न निषेधाज्ञा जारी गरेको छ ।
तरकारी बेचेर दुई छाक खाने गरिब किसानलाई व्यवस्थापन गर्नुको साटो प्रहरीले ज्यादती तवरले लखेटेको आरोप किसानहरुले लगाएका छन् । किसानहरुकै आन्दोलन भएकोले प्रदर्शनकारीहरुले किसानलाई तरकारी बेच्न कुनै दिक्कत नहुने जनाएको छ ।
यता, प्रहरीले भने जनमत पार्टीले आह्वान गरेको चक्काजाम र प्रशासनले जारी गरेको निषेधाज्ञाको क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै तरकारी बजारबाट आज अन्यत्र तरकारी बेच्न मात्र भनेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…