वडाध्यक्षहरु उपर कुटपिटको प्रयास भएको भन्दै मेयर साह विरुद्ध आन्दोलन
मेयर साहको कार्यकक्षबाट वडाअध्यक्षहरु बाहिर निस्केपछि केहीबेर नगर प्रहरी र उनीहरुबीच धक्कामुक्की समेत भएको थियो ।

२०७८ पुस २ शुक्रबार, बेलुकी ५:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका केही वडाध्यक्षहरु नगर प्रमुख लालकिशोर साह विरुद्ध मोर्चाबन्दी गरेका छन् ।
उनीहरुले नगरको सरसफाईमा नगर प्रमुख साह गम्भीर नभएको भन्दै आन्दोलन गर्न थालेका छन् । केही वडाध्यक्षहरुले केही दिनदेखि नगर प्रमुखप्रति रुष्ट देखिएका छन् ।
शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि नगरप्रमुख लालकिशोर साहले बोलाएको तर आफूहरुमाथि कुटपिट तथा दुर्व्यवहारको प्रयास गरेको भन्दै वडाअध्यक्षहरूले आपत्ति जनाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले जनकपुरधाम नगरमा थुपारिएको फोहोरले दुर्गन्धित बनाएको अवस्थामा आफूहरुले पटक–पटक मेयरसँग आग्रह गरे पनि कुनै वास्ता नगर्दै उल्टै आफ्नो कार्यकक्षमा बोलाएर गुण्डाशैलीमा आफूहरुमाथि नै जाईलागेको आरोप लगाए ।
वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहले शुक्रबार बिहान ११ बजे आफूहरु मेयरसँग भेटघाट गर्न गएको बेला बाहिरबाट लठैत बोलाएर मेयरले आक्रमणको प्रयास गरेको आरोप लगाए ।
यसअघि पनि जनकपुरधाम नगरको सरसफाई सम्बन्धी कुरा गर्न उपमहानगरको कार्यालयमा जाँदा वडा नम्बर ४ का वडाअध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पंकज मण्डललाई सरसफाइका कर्मचारीले दुर्व्यवहार गरेका थिए ।
मेयर साहको कार्यकक्षबाट वडाअध्यक्षहरु बाहिर निस्केपछि केहीबेर नगर प्रहरी र उनीहरुबीच धक्कामुक्की समेत भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…